
बुटवल, १८ फागुन । तिलोत्तमा गोल्ड कप फूटवल प्रतियोगितामा हिमालयन शेर्पालाई सेमिफाईनलमै रोक्दै सिएमजी क्लव संकटाले फाईनलको यात्रा तय गरेको छ । दोस्रो हाफको अन्तिमसम्म समान एक एक गोलको बराबरीमा प्रतिस्पर्धा गरेको संकटाका खेलाडी सुशिल केसीले ईन्जुरी समयमा गोल गर्दै टिमलाई फाईनलको यात्रा सुनिश्चित गराएका हुन् ।
अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफमा दुबै टिमले समान एक गोल गरेका थिए भने दोस्रो हाफको अन्तिम मिनेटसम्म दुबै टिमबाट थप गोल हुन सकेन । ईन्जुरी समयको दोस्रो मिनेटमै संकटाका सुशिलले डिवक्स नजिकैबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । त्यसअंघि खेलको २६ औं मिनेटमा हिमालनय शेर्पाका सुदन थापाको पासलाई हेड मार्फत चेतनकुमार थारुले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाफकै ४३ औं मिनेटमा संकटाका विदेशी खेलाडी मार्टिनले गोल गरेर खेललाई बराबरीमा पु¥याएका थिए । बराबरीमा भएको प्रतिस्पर्धामा गोल गर्ने राम्रा अवसरलाई दुबै टिमले सदुपयोग गर्न सकेका थिएनन् । यद्यपी संकटाका सामु हिमालयन शेर्पा दवावमा परेको थियो ।
जितसंगै संकटाले बिहिबार हुने अन्तिम सेमिफाईनलको विजेतासंग शनिबार उपाधिकालागि फाईनलमा प्रतिस्पर्धा गर्ने छ । अन्तिम सेमिफाईनल खेल बिहिबार आयोजक अग्नी रुपन्देही ११ र विभागिय टिम नेपाल आर्मीका बिच हुने आयोजक जिल्ला फूटवल संघ रुपन्देहीले जनाएको छ ।
२०३३ सालवाट शुरु भएको तिलोत्तमा गोण्डकप प्रतियोगितामा विभागिय ३ टिम सहित १० टिमको सहभागि थिए । प्रतियोगितामा विजेता हुने टिमलाई ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेतालाई ३ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ भने प्रतियोगिता अवधिभरमा उत्कृष्ट खेल प्रदर्शन गर्ने एक जना खेलाडीलाई मोटरसाईकल प्रदान गरिने आयोजकले बताएका छन् ।