
बुटवल, १८ फागुन । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्, रुपन्देहीले आफुहरुसंग समन्वय गरेर काम गर्न स्थानीय विकास अधिकारी युवराव सुवेदीलाई अनुरोध गरेको छ ।
महासंघले आज ध्यानाकर्षण पत्र बुझाउंदैं सुवेदीलाई उक्त अनुरोध गरेको हो । महासंघका अध्यक्ष दलबहादुर छन्त्यालको नेतृत्वमा सचिव ज्ञानेन्द्र भुजेल, नेपाल मगर संघका केन्द्रीय उपाध्यक्ष दलबहादुर बिरकट्टा, जिल्ला अध्यक्ष गीता सारु, भुजेल सेवा समितिका अध्यक्ष बुद्धिबहादुर भुजेल सम्मिलित टोलीले स्थानीय विकास अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएका हुंन् । सुवेदीलाई बुझाएको ध्यानाकर्षण पत्रमा लक्षित वर्ग अन्तरगत आदिवासी जनजातिका लागि छुट्याइएको बजेट जनजाति महासंघसंग सल्लाहनैं नगरि खर्च गरिएको भन्दैं समन्वय गरेर अघि बढ्न सुवेदीलाई आग्रह गरिएको छ ।
आगामी दिनमा महासंघसंग सहकार्य नगरि अगाडि बढे महासंघ संघर्ष गर्न पछि नपर्ने चेतावनी पनि ध्यानाकर्षण पत्रमा गराइएको छ । पत्रमा आदिवासी जनजाति जिल्ला समन्वय समिति, महासंघ, जिल्ला विकास समिति सहकार्य गरेर जानुपर्नेमा उनीहरुले जोड दिएका छन् ।