बजेट विनियोजन गर्ने खेलकुदमन्त्रीको आश्वासन

1.3K

बजेट विनियोजन गर्ने खेलकुदमन्त्रीको आश्वासन


कबिन्द्र नेपाल/
बुटवल, २१ फागुन । १९ औं तिलोत्तमा गोल्ड कप फूटवलको उपाधी सिएमजी क्लव संकटाले चुमेको छ । आज सम्पन्न फाईनल प्रतिस्पर्धामा आर्मीलाई एक गोलमा रोक्दै संकटाले दुई गोलको सहारामा उपाधी हात पारेको हो ।

आर्मीलाई एकका बिरुद्ध दुई गोल गर्दै उपाधी जितेको संकटाले नगद ५ लाख ५५ हजार ५ सय ५५ रुपैंया नगद पुरस्कार हात पारेको छ भने उपविजेतामा चित्त बुझाएको अर्मीले ३ लाख ५५ हजार ५ सय ५५ रुपैंया नगद पुरस्कार प्राप्त गरेको छ । विजेता तथा उपविजेतालाई युवा तथा खेलकुँद मन्त्री दलजित श्रीपालीले सो पुरस्कार सहित गोल्ड कप र मेडल प्रदान गर्नुभयो ।

प्रतियोगिताको सुरुदेखि नै अत्यन्तै प्रतिस्पर्धामा भएको खेलको २९ औं मिनेटमा आर्मीका राजिव गुरुङ्ले पहिलो गरेर टिमलाई अग्रता दिलाएका थिए । एक गोलको दवावमा परेको संकटाका निराजन खड्काले ४३ औं मिनेटमा गोल गरि पहिलो हाप बराबरी भएको थियो । दुबै टिमले गोलका लागि प्राप्त भएका प्रयाप्त अवसरहरु सदुपयोग भने गर्न सकेका थिएनन् ।

समान एक गोलको बराबरीमा अगाडी बढेको खेलको अन्तिम पाँच मिनेटमा संकटाका पुन निराजन खड्काले गरेको लङ् प्रहारले जाली चुमेपछि संकटा उपाधी नजिक पुगेको थियो । बाँकी समयमा आर्मीले थप गोल गर्न नसकेपछि निराजनको उक्त गोल नै संकटालाई उपाधीकालागि निर्णायक भएको हो ।

प्रतियोगितामा आयोजक अग्नी रुपन्देही ११ दिलिप क्षेत्री उत्कृष्ट खेलाडी घोषित हुँदै उनले १५ हजार नगद सहित स्कुटी पुरस्कार प्राप्त गरे । त्यस्तै प्रतियोगितामा वेष्ट कोच संकटाका सल्गन कोजु, वेष्ट किपर संकटाकै दिनेश श्रेष्ठ, वेष्ट मिड फिल्डर संकटाकै निराजन खड्का तथा टप स्कोरर आर्मीका दीप लामा र वेष्ट डिफेण्डर आर्मीकै हिरण्य मगर घोषित भए । उनीहरुलाई जनही १५ हजार रुपैंया नगद पुरस्कार प्रदान गरिएको छ ।

जिल्ला फूटवल संघ रुपन्देहीको आयोजनामा भएको प्रतियोगिताको समापन समारोहमा बोल्दै युवा तथा खेलकुद मन्त्री श्रीपालीले तिलोत्तमा गोल्ड कपको निरन्तरता तथा बुटवलको फिफा टेक्निकल सेन्टरलाई स्पोर्ट ग्रामका रुपमा बिकास गर्नकालागि तत्कालै वजेट विनियोजन गर्ने समेत आश्वासन दिनुभयो ।

समापन कार्यक्रममा संघका अध्यक्ष दीर्घबहादुर केसी (कुमार)ले प्रतियोगिता सञ्चालन गर्नकालागि ६८ लाख ५ सय १६ रुपैंया आर्थिक संकलन भएको र ५७ लाख ४ सय ७७ रुपैंया खर्च भएको जानकारी गराउनु भयो । उहाँले प्रतियोगिता निरन्तर सञ्चालनकालागि तथा फिफा टेक्निकल सेन्टरलाई व्यबस्थित गर्नकालागि बजेटको व्यबस्था मिलाउने मन्त्री श्रीपालीसंग आग्रह गर्नुभएको थियो ।

२०३३ सालवाट शुरु भएको तिलोत्तमा गोण्डकप प्रतियोगितामा विभागिय ३ टिम सहित १० टिमको सहभागि थिए ।