सहिद यादवनाथ प्रति श्रद्धा सुमन

1.3K

सहिद यादवनाथ प्रति श्रद्धा सुमन

परमानन्द भट्टराई    
आजभन्दा ठिक ३३ वर्ष अगाडीको कुरा हो (२०४० फाल्गुन २० गते) ।  पञ्चायती ब्यवस्थाको हालिमुहालीमा राजनैतिक पार्टीहरु प्रतिवन्धित थिए खुलेर पार्टी संगठन गर्न पाईदैनथ्यो । राजधानी बाहिर कार्यकर्तासंग भेटघाट गर्ने, जनताको भावना बुझ्ने, भावी रणनीति तयगर्ने सिलसिलामा तत्कालिन पार्टी महामन्त्री गिरीजा प्रसाद कोईराला (गिरीजाबाबु) देश दौडाहमा निस्कनु हुन्थ्यो । केही समय पहिले कपिलवस्तुको जितपुरमा भएको घटनाका बाबजुद रुपन्देही आउने निधो गर्नु भएछ र तत्कालिन नेपाली काँग्रेस रुपन्देही पार्टी सभापति पुष्पानन्द गिरीले खैरेनीको सुरजपुरा जहां गिरीको घर थियो सोही ठाँउमा कार्यक्रम तय गरिए छ ।

म विद्यार्थीको रुपमा पक्लिहवा क्याम्पसमा अध्ययनरत थिएँ । तत्कालिन जिल्ला पार्टी सचिव रामकृष्ण ताम्राकारले विद्यार्थीहरुलाई कार्यक्रममा सहभागी हुने खबर पठाउनु भयो । सोही खवर अनुसार पदम पाण्डे, कलाधर गैरे, जनक पन्थी लगायत म समेत गरी नेता ताम्राकार र हरी पोख्रेलहरुका साथमा खैरेनी तर्फ लाग्यौँ । खैरेनीको पुल पारी जीप रोकियो । । हामीलाई पिछा गरेर प्रहरी पनि गएजस्तो मलाई लाग्छ र त्यहाँ  वरिपरिबाट काँग्रेसका साथीहरु जम्मा हुदैँ थिए ।

काठमाडौबाट गिरीजाबाबुसंग शैलजा आचार्य, शेरबहादुर देउवा सहितका नेताहरु आउंदै हुनुहुन्थ्यो ।उहाँहरु आएको जीप नारायणगढमा बिग्रेछ र अर्को जीप लिएर आउँदै हुनुहुदो रहेछ । यतातर्फ तत्कालिन प्रशासनको मिलेमतोमा मण्डलेहरुले सुरजपुरामा आयोजित कार्यक्रम बिथोल्ने षडयन्त्र रचेका रहेछन् । केही मान्छेहरु नेताहरुलाई दाउन्नेबाट नै फर्काउन गएका र केही मान्छेहरु खैरेनीको जंगलमा भेला हुँदै रहेछन् । ती मानिसहरुको जमघटले सम्भावित हमलाको संकेत मिलेको थियो । केही साथिहरुले भैरहवामा कार्यक्रम गर्ने कुरो गर्दा साहसिक नेता पुष्पानन्द गिरीजिले मान्नु पनि भएन र आफ्नो गाउँमा कसैले केही गर्न नसक्ने भन्दै सोही ठाउंमा कार्यक्रम गर्ने अडान लिनुभयो । गाडी फरक परेर हुनसक्छ मण्डलेहरुले बाटोमा नचिनेर केही भएन ढिलो गरी नेताहरु खैरेनीमा आईपुग्नु भयो ।

खैरेनीबाट करिव १ घण्टा पैदल हिड्नुपर्ने रहेछ गिरीजाबाबुलाई अगाडी लगाउंदै हामी त्यस तर्फ  लाग्यौँ । गिरीजीको घरमा सबैलाई खानाको बन्दोबस्त भएको थियो । केही समयको विश्रामपछि कार्यक्रम सुरु भयो । गिरीजाबाबुले पञ्चायती ब्यवस्थाले गरेको ज्यादती र अब काँग्रेसले गर्ने आन्दोलनको विषयमा बोल्दै हुनुहुन्थ्यो । ती मण्डलेहरु हाम्रो पछिपछि आएका रहेछन् । उनीहरुले एक्कासी कार्यक्रम स्थलमा आक्रमण शुरु गरेपछि गिरीजाबाबुलाई गिरीको घरको तलामा लगियो । उनीहरुले कार्यक्रम स्थललाई घेराहाली सबैमाथि एकसाथ आक्रमण गरे । उनीहरुले गिरीजावावु लगायतका नेताहरुलाई आक्रमण गर्न घरको ढोकामा हतियारले काटेको निसानी सहितको ढोका अहिले पनि देख्न सकिन्छ । एकछिनका आक्रमण पछि मण्डलेहरुले घरमा आगो लगाउँदै हिडे एकैछिनमा गाँउलेहरुले आगो निभाई ठूलो धनजनको क्षतिबाट बचाए । मण्डले र तत्कालिन प्रशासनको आडमा भएको सांघातिक आक्रमणवाट कार्यक्रममा सहभागि म लगायत धेरै साथीहरु घायल भईयो । घाईते भएकाहरुलाई अस्पतालसम्म पु¥याउने साधन नपाएर गाउँलेहरुले लडियामा पराल राखेर सवै घाईतेहरुलाई राखी मंगलापुरसम्म ल्याई त्यहाँबाट ट्रकमा राखी बुटवल अस्पताल ल्याएको भन्ने भोलीपल्ट होस खुलेपछि थाहा भयो ।

भोलीपल्ट नै यादवनाथ आलोकजीको मृत्युको खबरले मृत्युको घण्टी कानमा बजिरहेको भान हुन्थ्यो । उपचार नपाएर छटपटिएका हामी घाईतेहरुलाई उपचारका लागि काठमाडौं लैजान पनि एम्बुलेन्स, हवाई टिकट समेत रोकेका कारण २, ३ दिनसम्म विना उपचार अस्पतालको बेडमा छटपटाउन वाध्य भयौं । सामान्य घाईतेहरु घर फर्कनुभयो भने कतिपय साथीहरु राम्रो उपचारका लागि भारत तर्फ लाग्नुभयो । पक्लिहवा क्याम्पसबाट कार्यक्रममा सहभागी भई सुरजपुरा घटनामा परेर घाईते भएका विद्यार्थी मध्ये म, कलाधर गैरे र पदमप्रसाद पाण्डे हाम्रा बुटवलमा न कुनै अभिभावक थिए न आफन्त नै । दुई तीन दिन विना उपचार बुटवल अस्पतालको वसाई पछि केही शुभेक्षुकको सहयोगमा थप उपचारका लागि हामीलाई रात्री बसमा राखेर काठमाडौँ वीर अस्पताल पु¥याईयो ।

त्यहाँपनि हामिलाई बेड उपलब्ध गराईएन । गल्लीमा राखेर डा. रामबहादुर बि.सीले उपचार गर्नु भयो । पार्टी कार्यालयले खटाएका साथीहरुले हामीलाई राम्रो हेरचाह गर्नु भएको थियो । तर बिडम्वना बुटवल अस्पालमा रहंदा बुटवलबासी मध्ये सूर्य प्रसाद प्रधान, रामप्रसाद खनाल बाहेकका कुनै पनि नेता कार्यकर्ताहरु भेट्न समेत अस्पताल आएको हामीलाई थाहा भएन । सुरजपुरा घटनाको प्रत्यक्षदर्शी, घाईते र जानकार समेत भएका कारण रामप्रसाद चौधरीलाई गोलीहानी मारियो । कैयौँ घाईते भए । सोही समयमा बर्तमान पार्टी सभापति, पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाज्यूलाई समेत मण्डलेहरुले आक्रमण गर्दा ओठमा चोट लागेको थियो । पार्टी कार्यक्रममा खटिंदा शसक्त कार्यकर्तालाई गुमाई सहिद वनाएको सुरजपुरा, ऐतिहासिक पृष्ठभूमि बोकेको रुपन्देही जिल्ला र यस्तै विभिन्न घटना क्रमहरुको पृष्ठ भूमिबाट २०४६ सालको परिवर्तन र २०६२÷२०६३ को ऐतिहासिक जनआन्दोलनले मुलुकमा परिवर्तन ल्याएको हो ।

तर विडम्वना तिनै सहिदहरुको त्याग र वलिदानले गर्दा मुलुकमा ऐतिहासिक परिवर्तन भएको भएपनि तिनै परिवर्तनका वाहक सहिदहरुलाई खोईत आज हामीले संझिन सकेको । कम से कम पनि रुपन्देही काँग्रेसले कुनै ठाउँ र केही कार्यक्रमको माध्यमबाट सहिद र ती योद्धाहरुलाई संझिनु पर्ने होईन र ? के थाहा बिचरा आजका पदाधिकारीहरु तत्कालिन अवस्थामा कुन पेशा ब्यवसायमा तल्लिन थिए ? के गर्दै थिए ? थाहा भएकाहरुपनि स्वार्थको दलदलमा फसेर बिर्से जस्ता हराए जस्ता भएका छन् । भाषणमा बी.पी.को दुहाई दिने ब्यवहारमा ज्ञानेन्द्र जस्तो बन्ने नेताहरुको प्रबृत्ति भएपछि सच्चा कार्यकर्ताले कसरी न्याय पाउने । हालसम्मका सबैखाले परिवर्तनको जस पाएको काँग्रेसले पार्टीको आन्तरिक ब्यवस्थापन गर्न नसक्दा हरेक कार्यकर्ता निरास बन्न परिरहेको अवस्था छ ।

सवैभन्दा ठूलो प्रजातान्त्रिक पार्टी नेपाली काँग्रेसले आन्तरिक जीवनमा प्रजातन्त्रलाई ब्यवहारत प्रयोगमा नल्याउदा पनि नाराकै भरमा अत्यधिक नेपाली जनताले, अन्तर्राष्ट्रिय समुदायले नेपाली काँग्रेसलाई नै विश्वास गरेको छ भर परेको छ । बी.पी.का सिद्धान्त झन पछि झन सान्दर्भिक देखिदै जाँदा र प्रतिपक्षीहरुले पनि बी.पी. लाई मान्दै गर्दा पार्टी भित्र गुट उपगुटको सृजना गरी पार्टीमा प्रतिवद्ध साथीहरुलाई सिध्याउन खोज्ने प्रबृतिका कारण आगामी दिनमा पार्टीले सफलता प्राप्त गर्ने कुरा फलामको च्युरा बन्दै गएको छ । जस्तोसुकै झुटको खेती गर्न पल्केका नेपाली बामपन्थीहरुकाबीचबाट असंगठित काँग्रेसलाई अगाडी बढाउन कठिन हुँदै गएको महसुस सर्वत्र भएको छ । गुट उपगुटको खाडलमा रुपन्देही काँग्रेस पनि फसेको छ । अव केन्द्रदेखि नगर र गाँउसम्म एकताको भावना नबढाउने हो भने स्थानीय निर्वाचनमा काँग्रेसको भूमिका र स्थान के हुने हो यसै भन्न सकिने अवस्था छैन ।

बिग्रिसकेपछि पछुताएर कसैलाई पनि फाईदा हुंदैन । अलिकता मात्र भएपनि विधि र अनुशासनमा चल्ने हो भने काँग्रेसको तागतलाई कसैले पनि कमजोर पार्न सक्दैन भन्ने कुरा विगतका परिणामले पुष्टि गरेका छन् । काँग्रेसको कमजोरी केन्द्रमा नै छ । जवसम्म केन्द्रमा सुधार हुदैँन तलको सुधारले केही अर्थ राख्दैन । मूल दुषित भएको पानीमा फिटकिरी राखेर खानु क्षणिक आत्मरति मात्र हो । सन्दर्भ आलोकजीको हो । आलोकजीले प्रजातन्त्र प्राप्तिको निम्ति गर्नु भएको बलिदान हामीले बिस्र्यौं । सहिदलाई यसरी बिर्सदै जाने हो भने जो पार्टीका नायक छन् तिनीहरुलाई पनि भावि पुस्ताले यसैगरी बिर्सने छन् भन्ने कुरा बेलैमा सोंचेर सजगता अपनाउन जरुरी छ । त्यसैले आफ्नो निम्ति पनि अरुलाई सम्मान गर्न सिकौँ । सहिद यादवनाथ आलोकको मार्गमा लाग्न सबैलाई सद्बुद्धि मिलोस । सबैलाई आलोकजीलाई सम्झन अनुरोध गर्दै वहाँप्रति श्रद्धासुमन ब्यक्त गर्दछु । जय नेपाल ।
(लेखक सुरजपुरा घटनाका घाईते तथा नेपाली काँग्रेस रुपन्देही क्षेत्र नम्वर चारका सचिव हुनुहुन्छ । )