शुक्रबार भैरहवामा नयां शक्तिको अभियान

1.3K

शुक्रबार भैरहवामा नयां शक्तिको अभियान


बुटवल, १० चैत । नयां शक्ति नेपाल पार्टीले बुधबार लहानदेखि शुरु गरेको ‘हिमाल–पहाड–तराई–मधेस राष्ट्रिय अभियान’ अन्तर्गत भोली शुक्रबार भैरहवामा सभा आयोजना हुंदैछ । हिमाल, पहाड र तराई–मधेशलाई भावनात्मक रुपमा जोड्न र असन्तुष्ट पक्षहरुलाई सहमतिमा ल्याई संविधान संशोधनमार्फत तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न निर्वाचनको वातावरण बनाउन दवाव दिने उद्देश्यले अभियान शुरु गरिएको सो पार्टीले जनाएको छ ।

भैरहवाको गणतान्त्रिक सभा गृहमा शुक्रबार मध्यान्ह १२ बजेदेखि कार्यक्रम शुरु हुने नयां शक्ति पार्टी नेपाल ५ नं. प्रदेश कार्यालय सचिव कमल खनालले जानकारी दिए । कार्यक्रमलाई नयांशक्ति पार्टी नेपालका संयोजक एवं पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई अभियानका संयोजक रामकुमार शर्मा, पार्टीका सहसंयोजक दुर्गा सोब, रामचन्द्र झा लगायतका नेताले सम्बोधन गर्ने पार्टीका रुपन्देही संयोजक देवेन्द्र पाण्डे सागरले जानकारी दिए ।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी नयां शक्तिमा प्रवेश गर्नेहरुलाई स्वागत गर्ने कार्यक्रम पनि रहेको पार्टीका रुपन्देही संगठन विभाग प्रमुख निर्दोष अलीले जानकारी दिए । कार्यक्रममा सहभागी हुन आउने केन्द्रीय संयोजक लगायत सबै नेताहरु होटलमा नबसी कार्यकर्ता र शुभेच्छुकहरुको घरमा बस्ने छन् ।

भैरहवापछि चैत १२ गते कोहलपुरमा र १३ गते धनगढीमा सभा हुने कार्यक्रम रहेको नयां शक्तिले जनाएको छ । यसैबीच अभियानको पुर्व सन्ध्यामा बिहीबार नयां शक्ति निकट राष्ट्रिय युवा अभियान रुपन्देहीले भैरहवामा मोटरसाइकल ¥याली निकालेको छ । ¥यालीले भैरहवाको विभिन्न क्षेत्र परिक्रमा गरेको अभियानका रुपन्देही संयोजक दीपक गुरुङले बताए ।