
बुटवल, १५ चैत । आस्था कला केन्द्र र लेकाली खेलकुद तथा सांगितिक मञ्च रुपन्देहीले लुम्बिनी डान्सिङ् स्टार २०७४ गर्ने भएका छन् । राम्रो कलाकार जन्माउनकालागि एसएमएस र भोटिङ् नभएर योग्यताका आधारमा कलाकार छनौट गर्नेगरी डान्सिङ् स्टार छनौट गर्न लागिएको आज बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
लुम्बिनी अञ्चलका जिल्लाहरुमा पहिलो चरणमा अडिसन गर्ने र त्यसपछिका सबै अडिसनहरु बुटवलमा गर्ने लेकाली खेलकुद तथा सांगितिक मञ्चका अध्यक्ष तिलक नेपालीले बताउनु भयो । बिहिबारदेखि सुरु हुने अडिसनका पहिलो चरणको अडिसन कपिलबस्तुको चार नम्बर, रुपन्देहीको मुर्गिया, रुद्रपुर, ठुटिपिपल, फर्साटिकर, मणिग्राम, नवलपरासीको परासी, रुपन्देहीको खैरेनी र बुटवलका बिभिन्न स्थानमा गरिने छ भने पाल्पा, गुल्मी र अर्घाखाँचीमा एक एक जनालाई जिम्मा दिएको र पहिलो अडिसन जिल्लामा नै गराएर दोस्रो अडिसनकालागि बुटवल पठाउने आस्था कला केन्द्रका अध्यक्ष लोकेन्द्र शाहले बताउनु भयो ।
असारको दोस्रो हप्ता सम्ममा फाईनल अडिसन सक्ने तयारी गरेको उक्त प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार रुपैंया, दोस्रो हुनेलाई १५ हजार रुपैंया र तेस्रो हुनेलाई १० हजार रुपैंया नगद पुरस्कार सहित एक एक वटा म्युजिक भिडियो प्रदान गरिने र गिफ्ट ह्याम्परहरु प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी गराईयो ।