जेसीआई भलवारीद्वारा गौतमलाई सम्मान

1.3K

जेसीआई भलवारीद्वारा गौतमलाई सम्मान

भलवारी, १६ चैत । संयुक्त राष्ट्रसंघका पूर्व उपमहासचिव तथा युनिसेफका पूर्व कार्यकारी उपनिर्देशक कुलचन्द्र गौतमले “अरू व्यक्ति पनि लाभान्वित हुनसक्ने उन्नति मात्र सही उन्नति हो” भन्दै नयाँ पुस्ताले यो मन्त्र धारण गर्नुपर्ने बताउनुभएको छ ।

रूपन्देहीको तिलोत्तमा नगरपालिकामा क्रियाशील जेसीआई भलवारीले उहाँको सम्मानमा आज आयोजना गरेको स्वागत तथा परिचयात्मक कार्यक्रममा बोल्दै गौतमले व्यक्तिगत स्वार्थमात्रले गरिने आफूकेन्द्रित प्रगति समाजका लागि फलदायी र सन्तुलित नहुने बताउनुभयो । विश्वका नयाँ पुराना खर्बपति समेत समाजकल्याणमा लागिपरेका भन्दै उहाँले “विदेशी भूमिको कामका लागि नेपालीले इमानदारिता प्रमाणित गराएपनि, आफ्नै मातृभूमिप्रतिको इमानदारीता अझै परीक्षणमा रहेको” उल्लेख गर्नुभयो ।

भलवारीस्थित जेसीज सचिवालयमा वर्ष २०१७ का अध्यक्ष मुक्तिनाथ गैह्रेको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष सूरज पङ्गेनीले जेसीज अन्तर्गत हाल सञ्चालित राष्ट्रिय तथा स्थानीय कार्यक्रमबारे जानकारी दिनुभएको थियो ।

जेसीआई भलवारीका महासचिव किशोर पङ्गेनीको सञ्चालनमा भएको कार्यक्रममा शाखाका पूर्व  अध्यक्ष प्रकाश पोखरेल, रमेशकुमार पराजुली लगायत बोर्डका पदाधिकारी तथा सदस्यहरूले राष्ट्रसंघका पूर्व उपमहासचिव गौतम र विकाशप्रेमी युवा सुजनचन्द्र गौतमको स्वागत गर्नुभएको थियो ।