सहकारीले ठुला लगानी गर्न पाएनन्

1.3K

सहकारीले ठुला लगानी गर्न पाएनन्

बुटवल, २० चैत । ६० औं राष्ट्रिय सहकारी दिवस रुपन्देहीमा विशेष समारोहका साथ आज मनाइएको छ । रुपन्देहीका डिभिजन सहकारी, बचत संघ तथा विषयगत सहकारीहरुले संयुक्त रुपमा ६० औं सहकारी दिवस मनाएका हुन् ।  बुटवलमा भएको विशेष मुल समारोहमा बोल्ने सहकारीकर्मीहरुले सहकारीमैत्री ऐन आवश्यक रहेको बताएका थिए ।

उनीहरुले सहकारीमैत्री ऐनको अभावमा सहकारी संचालन तथा ब्यवस्थापनमा अफ्ठ्याराहरु आई रहेको बताउदै उनीहरुले आउन लागेको ऐन सहकारीमैत्री नै हुनु पर्ने माग गरेका हुन् । कार्यक्रमको उद्घाटन गर्दै नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड नेफ्स्कुनका महासचिव चन्द्रप्रसाद ढकालले सहकारी ऐनको अभावले सहकारीबाट ठुलाठुला लगानी गर्न कठिनाई भएको अवस्थामा सहकारीमैत्री ऐन आएमा त्यसले सहकारी संस्थाहरुलाई धेरै फाईदा पुग्ने बताउनुभयो ।

कार्यक्रममा नेफ््स्कुनका प्रदेशनम्बर ५ का संचालक कृष्ण नेपालले सहकारीहरुले दीगो लक्ष्य प्राप्तीका लागि योजना बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले दीगो लक्ष्यविना कुनै पनि सहकारीको विकास सम्भव नरहेको भन्दै उद्यमशिलता र उत्पादनमुलक क्षेत्रमा सहकारीको लगानी केन्द्रित हुनु पर्ने बताउनुभयो । सहकारी डिभिजन कार्यालयका सहकारी अधिकृत नेत्रप्रसाद घिमिरेले सहकारीको पुँजीलाई सानोसानो क्षेत्रमा लगानी गर्नुभन्दा पनि त्यसलाई उत्पादन र विकासमुखि योजनामा लगानी गर्नु पर्ने सुझाव दिनुभयो ।

जिल्ला सहकारी संघका अध्यक्ष भिमप्रसाद तुलाचनको अध्यक्षतामा भएको कार्यक्रममा दुग्घ उत्पादक सहकारी संघका अध्यक्ष लेखनाथ पाण्डे, कृषि सहकारीका अध्यक्ष झुपा न्यौपाने, जिल्ला सहकारी संघका उपाध्यक्ष डोलप्रसाद अर्याल, राधा थापा, नेपाल पत्रकार महासंघका अध्यक्ष यानेन्द्र जिसी, सहकारी पुरस्कार मुल्यांकन समितिका संयोजक डिआर घिमिरे, लुम्विनी सहकारीका अध्यक्ष महेश्वरप्रसाद श्रेष्ठ लगायतले सहकारीको विकासमा एक भएर हिड्नु पर्ने बताउनुभयो ।

सो अवसरमा डिभिजन सहकारी कार्यालय, बचत तथा ऋण सहकारी संघ र आयोजक मुल समितिले विभिन्न विधामा उत्कृष्ट भएका सहकारी संस्था, सहकारीकर्मी, कर्मचारी, संचालक, दिर्गसेवा, उत्कृष्टसेवा गरेकाहरुलाई पुरस्कृत तथा सम्मान गरिएको थियो । सोही अवसरमा डिभिजन कार्यालयले जिल्ला बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष बसन्तप्रसाद ढकाललाई सहकारी ब्यक्तित्व पुरस्कारबाट पुरस्कृत गरेको  थियो ।

चार पत्रकार पुरस्कृत

६० औं राष्ट्रिय सहकारी दिवसको अवसरपारी रुपन्देहीमा सहकारीको विकास र समृद्धिका लागि कलम चलाइएको भन्दै रुपन्देहीका चार जना पत्रकारहरुलाई उत्कृष्ट सहकारी पत्रकारिता पुरस्कार प्रदान गरिएको छ  । डिभिजन सहकारी कार्यालय रुपन्देहीले तीन जना र नेपाल पत्रकार महासंघ रुपन्देही र जिल्ला बचत तथा ऋण सहकारी संघको समन्वयमा स्थापना गरिएको पुरस्कारबाट एक जना गरि चार जनालाई पुरस्कृत गरिएको हो ।

डिभिजन सहकारी कार्यालय रुपन्देहीले सहकारीको विकासमा कलम चलाएको भन्दै गौतमबुद्ध सन्देशका सम्पादक टिआर शर्मा, बुटवल एफएम तथा तिलोत्तमा दैनिकका पत्रकार झविन्द देवकोटा र बुटवलटुडेका पत्रकार कृष्ण खनाललाई जनही १० हजार रुपैया सहित प्रशंसापत्रले पुरस्कृत गरेको हो । यस्तै अन्नपुर्ण दैनिकका संवाददाता लक्ष्मण पोखरेल बचत संघ र पत्रकार महासंघले स्थापना गरेको पुरस्कार प्रदान गरिएको हो । पोखरेललाई पनि नगद १० हजार  तथा प्रशंसापत्र प्रदान गरिएको छ । उहाँहरुलाई डिभिजन कार्यालयका प्रमुख नेत्रप्रसाद घिमिरे, नेफ्स्कुनका महासचिव चन्द्रप्रसाद ढकाल र जिल्ला सहकारी संघका अध्यक्ष भिमप्रसाद तुलाचनले संयुक्त रुपमा पुरस्कार प्रदान गर्नु भएको हो ।