बुटवलमा स्थायी पेन्सन क्याम्प

1.3K

बुटवलमा स्थायी पेन्सन क्याम्प

बुटवल, २० चैत । बुटवलमा स्थायी भारतीय पेन्सन पेइङ्ग(पिपिओ) सञ्चालनकालागि सरकारले थप जग्गाको व्यबस्था गरेको छ । साविकको जिल्ला सैनिक बोर्ड बुटवल फूलबारीमा थप जग्गाको व्यबस्था गरेपछि भारतीय सेनाबाट अवकाश लिएका पूर्व सैनिकहरु खुसी भएका छन् ।

६÷६ महिनामा अस्थायी रुपमा पेन्सन वितरण गर्दै आएको र जग्गा प्राप्ती संगै भारत सरकारले स्थायी कार्यालय सञ्चालन गर्ने भूपूहरुलाई नियमित रुपमा पेन्सन वितरण गर्ने भएपछि पूर्व सैनिकहरु खुसी भएका हुन् । बुटवलमा स्थायी पेन्शन क्याम्प स्थापना भएपछि काठमाडौं र पोखरा जानुपर्ने बाध्यता अन्त्य भएको छ । अव भुपुहरुले मासिक रुपमै आफ्नो पेन्शन बुटवलबाटै लिन सक्नेछन् । भौतिक निर्माणको काम पुरा हुन डेढ वर्ष लाग्ने भएपनि अवको केही महिनामै नियमित पेन्शन लिन पाउने बताइएको छ ।

२०६० सालमा मन्त्री परिषदबाट पास भईसक्दा पनि आजसम्म सो परियोजनाको लागि जग्गा प्राप्त हुन सकेको थिएन । सरकारका बन मन्त्री शंकर भण्डारीले पेन्शन वितरणको स्थलगत अवलोकन गरि सबैकुराको जानकारी लिनुभएको थियो । त्यससगै गत फागुन १७ गतेको मन्त्री परिषदको बैठकले स्थायी पेन्सन क्याम्प निर्माणकालागि थप २३ कट्ठा जग्गा उपलब्ध गराएको संयुक्त पूर्व सैनिक एवं प्रहरी कल्याणकारी महासंघ नेपालले आज बुटवलमा पत्रकार सम्मेलन गरि जानकारी गराएको हो ।

पेन्सन क्याम्प स्थापना भएपनि यस क्षेत्र बाहेक बुटवल पश्चिमका ४० हजार भूपूहरु लाभान्वित हुने महासंघका सहअध्यक्ष किसन थापाले बताउनु भयो । यस अंगाडी करिव १ विगाहा १४ कट्ठा जग्गामा अस्थायी क्याम्प सञ्चालन गर्दै आएकोमा अव थप २७ कट्ठा जग्गा उपलब्ध भएपछि स्थायी क्याम्प सञ्चालन हुने र भारत सरकारले प्रकृया समेत सुरु गरिसकेको उहाँले बताउनु भयो ।

अव तत्कालै स्थायी क्याम्प सुरु हुने र त्यसपछि बैंक, पोलि क्लिनिक, बिद्यालय समेत सञ्चालन हुन सक्ने भएकाले यस क्षेत्रको उल्लेखनीय बिकास समेत हुने महासंघका महासचिव कुलबहादुर केसीले बताउनु भयो । बुटवल नगर विकास समितिका अध्यक्ष खेलराज पाण्डेले वन विभाग र वनमन्त्रीको अग्रसरताले गर्दा २/३ महिनामै जग्गा प्राप्ति भएको हुंदा स्थायी पेन्शन क्याम्पको प्रक्रिया अगाडी बढेको बताउनुभयो ।

उक्त जग्गा र जग्गामा निर्माण गरिने पूर्वाधार भने नेपाल सरकारकै स्वामित्वमा रहने छ । बन क्षेत्रमा रहेका रुख बिरुवा, जैविक विविधता र वातावरणीय अवस्थामा प्रतिकुल असर नपार्ने गरी पूर्वाधार निर्माण गर्नुपर्ने, जग्गाको प्रयोग गर्नु अंगाडी रक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय, बन विभाग र जिल्ला बन कार्यालय रुपन्देहीसंग समन्वय गर्नुपर्ने, बन क्षेत्रमा रहेका रुख बिरुवाको संरक्षण गर्नुपर्ने, प्रयोग गर्ने जग्गा जिल्ला बन कार्यालयले तोकिदिएको क्षेत्रमा आफ्नै लागत खर्चमा बृक्षरोपण गरी ५ वर्षसम्म गर्नुपर्ने शर्तको पूर्ण रुपमा कार्यान्वयन स्वयम कार्यालयले गर्नुपर्ने छ ।