
बुटवल, २० चैत । आसन्न स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा राष्ट्रिय जनमोर्चाले प्रचारात्मक अभियान सुरु गरेको छ । पार्टीले ६ वटा प्रचारात्मक टोली बनाएर क्षेत्रगत रुपमा प्रचार प्रसार सुरु गरेको हो । प्रचार अभियान अन्तरगत लुम्बिनी राप्तीमा आज देखि प्रचार प्रसार सुरु भएको आज बुटवलमा पत्रकार सम्मेलन गरि जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै पार्टीकी उपाध्यक्ष तथा प्रवक्ता समेत रहनु भएकी लुम्बिनी राप्ति प्रचार अभियानकी संयोजक दुर्गा पौडेलले स्थानीय निकायलाई मजवुत बनाउन तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नुपर्ने बताउनु भएको छ । देशको विकासका लागि स्थानीय निकाय मेरुदण्ड रहेकाले पार्टीले निर्वाचनलाई प्राथमिकताका साथ उपयोग गरेको भन्दै उहांले तोकिएकै मितिमा स्थानीय निकायको निर्वाचन सम्पन्न गर्नका लागि पार्टीले देशभर प्रचारात्मक अभियान सञ्चालन गरेको जानकारी गराउनु भयो ।
सांसद समेत रहनुभएकी नेतृ पौडेलले जनआन्दोलनमा सहभागी शक्तिहरुसंग स्थानीय निर्वाचनमा तालमेल गर्ने पार्टीले निर्णय गरेको उल्लेख गर्नुभयो । उहांले जातीवादी, मधेशवादी, राजावादी र नयां शक्तिसंग स्थानीय निर्वाचनमा तालमेल नगरिने प्रष्ट पार्नु भयो । जातीवादी र राजावादीसंग राष्ट्रिय जनमोर्चा पहिल्यैदेखि टाढा रहेको र पछिल्लो समयमा मधेशवादी दल मधेशी जनताका मुद्धा भन्दा भारतको मुद्धालाई बोकेर राष्ट्रियतालाई संकटमा पार्ने गतिविधिमा लागेकाले मधेशवादीसंग तालमेल हुन नसक्ने प्रष्ट पार्नुभयो । त्यस्तै विकसति परिवेशमा बाबुराम भट्टराई नेतृत्वको नयां शक्ति पार्टी जातीवादी र मधेशवादीसंग मिलेकाले निर्वाचनमा तालमेल गर्न नसकिने उहाँको भनाई छ ।
संघीयता खारेजीको बिरोधलाई कायमै राखेर प्रजातान्त्रिक विकेन्द्रियता, संविधान कार्यान्वयन, स्थानीय विकासका लागि राजमोलाई मतदान भन्ने मुल नाराका साथ निर्वाचनमा भाग लिईएको उहांले बताउनुभयो । संविधान कार्यान्वयन अहिलेको राष्ट्रिय आवश्यकता भएको उल्लेख गर्दै उहांले लोकतन्त्र, गाण्तन्त्र, धर्म निरपेक्षता सहित आन्दोलनका उपलब्धीहरुलाई संस्थागत गर्न संविधान कार्यान्वयन गर्नुपर्ने र त्यसका लागि स्थानीय निर्वाचन आवश्यक रहेको बताउनुभयो । तर पार्टीले संघीयताको भने बिरोध गरिरहेको उहाँको भनाई छ ।
शेरबहादुर विसीको अध्यक्षता, गणेश गौतमको स्वागत र सोमकुमार कार्कीको सञ्चालनमा कार्यक्रम भएको थियो । स्थानीय निर्वाचनलाई केन्द्रित गरेर राष्ट्रिय जनमोर्चाले राप्ती–लुम्बिनी क्षेत्रमा प्रचारप्रसारका लागि सांसद दुर्गा पौडेलको संयोजकत्वमा बद्रे आलम, चन्द्रबहादुर के.सी., सकुन्तला राना, रेशम वि.सी. र देवेन्द्र कुँवर रहेको समिति गठन गरि अभियानलाई अंगाडी बढाएको छ । नवलपरासीको गैडाकोटबाट सुरु भएको प्रचारात्मक अभियान रुपन्देही, कपिलबस्तु, दाङ्, रोल्पा, प्युठान, अर्घाखाँची, गुल्मी हुँदै बैशाख २० गते पाल्पाको तानसेनमा समापन गरिने कन्द्रीय सदस्य सोमकुमार कार्कीले जानकारी दिनुभयो ।