
बुटवल, २१ चैत । नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादीका स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्माले सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचन खारेज गर्न माग गर्दा पनि निर्वाचन गराए आफ्नो पार्टीले सशक्त प्रतिवाद गर्ने चेतावनी दिनुभएको छ ।
क्रान्ति विरुद्धको आन्दोलनलाई तत्लो तहसम्म स्थापित गर्ने रणनीतिका साथ सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेको आरोप लगाउँदै उहाँले क्रान्ति र परिवर्तनको खिलापमा हुने क्रियाकपाललाई जनताको साथ लिएर ससक्त प्रतिवाद गर्ने चेतावनी दिनुभएको हो । क्रान्तिकारी पत्रकार संगठन रुपन्देहीले आज बुटवलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो–‘बिरालो सेतो भएपनि कालो भएपनि बिरालो नै हो, क्रान्ति गरेर राजनीतिक परिवर्तन गरेपनि सत्ता दलालकै हातमा पुगेको छ ।’
स्थानीय तहको चुनाव नै गर्ने हो भने चुनावको औचित्य पुष्टि गरेर निर्वाचन प्रति बिमत्ति राख्ने शक्तिहरुलाई पनि कन्भिन्स गर्न उहाँले आग्रह गर्नुभयो । उहाँले अहिले विश्वमा वैज्ञानिक समाजवादको आवश्यकता महसुस भएको बताउँदै त्यसकालागि पार्टी अंगाडी बढेको उल्लेख गर्नुभयो । कार्यक्रम क्रान्तिकारी पत्रकार संगठन रुपन्देहीका अध्यक्ष प्रकाश डुम्रेको अध्यक्षतामा भएको थियो ।