मुल्य वृद्धि फिर्ता गरी सहज आपूर्ति गर्न व्यवसायीको माग

1.3K

मुल्य वृद्धि फिर्ता गरी सहज आपूर्ति गर्न व्यवसायीको माग

बुटवल, २२ चैत । उद्योगहरुले सिमेन्ट र छडको मुल्य बढाउनुका साथै आपूर्ति समेत घटाएको भन्दै हार्डवेयर व्यबसायीले बृद्धि गरिएको मुल्य तत्काल फिर्ता लिन र सहज आपूर्ति गराउन माग गरेका छन् ।

रुपन्देही हार्डवेयर व्यबसायी संघको आज बुटवलमा बसेको बैठकले उद्योगले बिना कारण मुल्य बढाउनुका साथै कृतिम अभाव सिर्जना गरि आपूर्ति समेत ह्वात्तै घटाएको भन्दै बृद्धि गरिएको मुल्य हटाउन र कृतिम अभाव नगराउन माग गरेको हो । उद्योगले सिमेन्टमा प्रतिबोरा ६० रुपैंया छडमा प्रतिकिलो ५ रुपैंया मुल्य बृद्धि गरेको व्यबसायीहरु बताउँछन् ।

दुई हप्ता अंगाडीसम्म प्रतिबोरा ६२० रुपैंया रहेको पिपिसी सिमेन्ट अहिले ६८० रुपैंया र ७३० रुपैंया रहेको ओपिसी सिमेन्टको मुल्य प्रतिबोरा ७९० रुपैंया बजार मुल्य कायम गरेको भन्दै यसले उपभोक्ताको ढाड सेकिएको रुपन्देही हार्डवेयर व्यबसायी संघका महासविच विष्णु बरालले बताउनु भयो । ‘कच्चा पदार्थको पनि अभाव छैन, मुल्य पनि बढेको छैन, श्रमिकलाई पनि ज्याला बढेको छैन ।’ संघका अध्यक्ष सुनिल मरासीनिले भन्नुभयो–‘बिना कारण मुल्य बढाउनु पाईँदैन ।’

अहिले निर्माणको गति उच्च रहेको र यस्तो अवस्थामा मुल्य बढाउने तथा कृतिम अभाव सिर्जना गर्नुले निर्माणको काममा समेत अवरोध आउने उहाँले बताउनु भयो । उद्योगले जति मुल्य बृद्धि गरेपनि व्यबसायीलाई केही फरक नपरेपनि उपभोक्तालाई मर्का पर्ने भएकाले व्यबसायीले त्यसको बिरोध गरेको बताउनु भयो ।

बैठकले आगामी बैशाख १६ गते संघको साधारण सभा समेत गर्ने निर्णय गरेको छ । रुपन्देही हार्डवेयर व्यबसायी संघ र सिद्धार्थ निर्माण सामाग्री व्यबसायी संघ बिच एकिकरण गरि संयुक्त साधारण सभा गर्न लागिएको हो ।