
बुटवल, २३ चैत । बुटवलमा सञ्चालन गरिएको जुत्ता मेलामा तुलनात्मक रुपमा चप्पलको कारोवार बढी भएको छ । गर्मी मौषममा मेला सञ्चालन भएका कारण जुत्ताको तुलनामा चप्पलको कारोवार बढी भएको हो ।
गर्मिकै कारण आयोजकले अपेक्षा गरे अनुसार ग्राहकको सन्तोषजन उपस्थिती पनि नभएको सहआयोजक नेपाली जुत्ता घरका सञ्चालक होमनाथ उपाध्यायले बताउनु भयो । मेला सचिवालयका अनुसार दैनिक १ हजार ५ सय जोर जुत्ता बिक्री भएको छ । गर्मीका कारण चप्पलको सिजन पनि भएकाले कम्पनीहरुले पनि चप्पलमा प्याकेज ल्याएकाले चप्पलको बिक्री बढी भएको मेला आयोजक समितिका संयोजक तथा नेपाल युवा उद्यमी मन्च रुपन्देही च्याप्टरका अध्यक्ष सुमोदमान सैंजुले बताउनु भयो ।
नेपाल युवा उद्यमी मञ्च रुपन्देही च्याप्टरको आयोजनामा यही चैतको ११ गतेदेखि बुटवल उद्योग बाणिज्य संघमा दोस्रो संस्करणको जुत्ता मेला सञ्चालन भईरहेको छ । युवा उद्यमीहरुको उद्यमशिलता विकास गर्ने उद्देश्यका साथ स्थापित मञ्चले स्वदेशी उत्पादन प्रवद्र्धनकालागि नेपाली जुत्ता घरको सहआयोजनामा जुत्ता मेला गरेको हो । मेलामा नेपाली जुत्ता घरमा आवद्ध नेपाली उद्योगका ९ वटा ब्राण्ड राखिएको छ । नेपाली जुत्ता घरमा ८ वटा जुत्ता उद्योग सहभागी छन् । आगामी २६ गतेसम्म सञ्चालन हुने मेलामा ५० हजार दर्शकले अवलोकन गर्ने र मेला भित्र करिव एक करोडको कारोवार हुने अपेक्षा गरिएको थियो ।
मेलामा अपेक्षाकृत रुपमा दर्शक पनि आएको र कारोवार पनि भएको मेला आयोजक समितिका संयोजक सैंजुले जानकारी दिनुभयो । अंघिल्लो वर्षको भारतीय नाकाबन्दी र त्यस अंगाडीको भुकम्पका कारण नेपाली उद्योगले क्षमता अनुसारको उत्पादन गर्न सकेको थिएन । जसका कारण नेपाली बजारमा विदेशी जुत्ताले ह्वात्तै स्थान ओगटेको उद्योगीहरु बताउँछन् । दुई वर्ष अंगाडीसम्म करिव ६५ प्रतिशत बजार ओगटेको नेपाली उत्पादन पछिल्लो समयसम्म आईपुग्दा ४५ प्रतिशतमा झरेको र त्यसैलाई माथी उठाउनकालागि प्रवद्र्धनात्मक मेला सञ्चालन गरिएको नेपाली जुत्ता घरका सञ्चालक उपाध्याय बताउनु हुन्छ ।
नेपाली उद्योगले पनि जुत्ता उत्पादनकालागि ७० प्रतिशत कच्चा पदार्थ भारतीय बजारमा निर्भर हुनु परेको छ । त्यसबाहेक प्रतिलिपि अधिकार बिरुद्ध पाईरेसी गर्ने कामले पनि नेपाली जुत्तालाई मार परेको उहाँले बताउनु भयो ।