चुनावको विकल्प छैन : रक्षामन्त्री खाँण

1.3K

चुनावको विकल्प छैन : रक्षामन्त्री खाँण

बुटवल, ५ बैशाख । सरकारका रक्षा मन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले निर्धारित मितिमा चुनाव गराउनुको विकल्प नभएको बताउनु भएको छ । आगामी माघ ७ गते भित्र स्थानीय, प्रादेशिक र केन्द्रीय चुनाव गराउने दायित्व भएको र चिर्वाचन विकल्प विहिन अवस्थामा भएकाले सरकारले निर्धारित मिति बैशाख ३१ मा चुनाव गराएरै छाड्ने बताउनु भयो ।

नेपाल प्रेस युनियन रुपन्देहीले आज बुटवलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले नागरिकको घर आँगनसम्म सरकारको पहुँच पु¥याउने स्थानीय तहको निर्वाचनलाई सहयोग गर्न पनि सबैलाई आग्रह गर्नुभयो । ‘घोषित मिति मै चुनाव गराउनु पर्ने राष्ट्रिय आवश्यकता हो ।’ मन्त्री खाँणले भन्नुभयो–‘जनतालाई शक्ति सम्पन्न गर्ने काममा कसैले पनि तलमाथि गर्नु हुँदैन ।’ घोषित मिति मै चुनाव होस भन्ने सरकारको चाहना भएको बताउँदै उहाँले निर्वाचनमा खटिने कर्मचारी, उम्मेद्वार, मतदाता सबैको सुरक्षाको प्रवन्ध मिलाएको जानकारी गराउनु भयो ।

पूर्व सहमतिमै ल्याएको संविधान संशोधनको प्रस्तावलाई मधेशी दलले अस्वीकार गर्नु आश्चर्यको विषय भएको उल्लेख गर्दै मुलुकको आवश्यकता र लोकतान्त्रिक मुल्य मान्यतालाई स्थापित गर्नकालागि चुनावबाट कोही पनि चुक्न नहुने उहाँको भनाई छ । निर्वाचन बिथोल्ने गरी भएका निर्णयले मुलुक र लोकतान्त्रिक मुल्य मान्यतालाई राम्रो नगर्ने र मुलुकको शान्ति र समृद्धिको यात्रालाई समेत विथोल्ने भएकाले संविधान कार्यान्वयनको अभियानमा सबैलाई लाग्न आग्रह गर्नुभयो ।

सरकार एक सुत्रीय रुपमा चुनाव गराउने काममा तल्लिन रहेको उल्लेख गर्दै चुनाव सार्ने कुरा सोच्नै नसकिने बताउनु भयो । नेपाल प्रेस युनियन रुपन्देहीका सभापति बिक्रम खड्काको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन सचिव कबिन्द्र नेपालले गर्नुभएको थियो ।