‘मोर्चा आए दुई चरणमा चुनाव’

1.3K

‘मोर्चा आए दुई चरणमा चुनाव’

बुटवल, ६ बैशाख । सरकारका उपप्रधान तथा स्थानीय विकास मन्त्री कमल थापाले मधेशी मोर्चाले चुनावमा भाग लिने परिस्थितीको बिकास भएमा दुई चरणमा चुनाव गराउन सरकार तयार रहेको बताउनु भएको छ ।

मधेशी मोर्चालाई चुनावमा सहभागि गराउन सरकारले हर सम्भव प्रयास गरिरहेको र अन्तिम सम्म पनि हर प्रयास गरिहने बताउँदै उहाँले मधेशी मोर्चाले चुनावमा भाग लिने हो भने केही जिल्लामा दोस्रो चरणमा चुनाव गराउन सकिने बताउनु भएको हो । आज बुटवलमा आयोजित पत्रकार सम्मेलनमा मधेशी मोर्चाले लिएको चुनाव वहिस्कारको निर्णय पुनर्बिचार गरेर चुनावमा सहभागि हुन पनि उहाँले आग्रह गर्नुभयो । उपप्रधानमन्त्री थापाले सहमतिमा मोर्चा चुनावमा आउने प्रयोजनकै लागि सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गराएको उल्लेख गर्दै चुनाव बहिस्कारको कठोर निर्णय सच्याउन आग्रह गर्नुभयो ।

संविधान कार्यान्वयनकालागि पनि चुनाव अपरिहार्य रहेकाले सरकारले युद्धस्तरमा चुनावको तयारी गरिरहेको उहाँले बताउनु भयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष समेत रहनुभएका मन्त्री थापाले निर्वाचन आयोगले पार्टीको विधानबाट पार्टीको आस्था राजसंस्था र हिन्दुराज्य हटाएको विषयलाई पुनर्बिचार नगरे थप सशक्त आन्दोलन गर्ने चेतावनी दिनुभयो । निर्वाचन आयोगले कम्युनिष्ट पार्टीका साम्यवादी व्यबस्था खारेज नगर्ने तर राप्रपाको आस्था हिन्दु राज्य र राजसंस्थालाई खारेज गर्ने निर्णय कसरी तर्क संगत हुन सक्छ– पत्रकार सम्मेलनमा पार्टीका पूर्व अध्यक्ष पशुपति समसेर राणाले निर्वाचन आयोगलाई प्रश्न गर्नुभयो ।

पार्टीको विधानमा भएको व्यबस्थालाई निर्वाचन आयोगले हटाउने निर्णय संवैधानिक र राजनीतिक हिसावले पनि उपर्युक्त नभएको बताउँदै अध्यक्ष थापाले त्यसका बिरुद्ध पार्टीले सांकेतिक रुपमा बिरोधका कार्यक्रम गरिरहेको उल्लेख गर्नुभयो । पार्टीको विधान संशोधन गर्ने पार्टीको सार्वभौम अधिकार भएकाले निर्वाचन आयोगको निर्णय पार्टीलाई स्वीकार्य नभएको उहाँले बताउनु भयो ।

उहाँले पार्टी आफ्नो सिद्धान्त र नीति प्रति प्रतिवद्ध रहेको र संविधान पनि परिवर्तनशिल रहेकाले संविधानको परिधि भित्रै रहेर आफ्ना मान्यताहरुलाई स्थापित गर्न प्रयत्न भईरहेको उल्लेख गर्नुभयो । निर्वाचन आयोगले चुनाव चिन्ह नदिएर आन्दोलन गरिरहेका दललाई चुनाव चिन्ह दिन केही कानुनी जटिलता भएको उल्लेख गर्दै उहाँले आयोगले व्यबहारिक रुपमा भएपनि मिलाउँदा राम्रो हुने प्रतिक्रिया दिनुभयो ।