
बुटवल, १७ बैशाख । रुपन्देही सिद्धार्थ निर्माण सामाग्रि व्यबसायी संघले छड सिमेन्टमा देखिएको समस्या समाधान गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा ज्ञापन पत्र बुझाएको छ ।
उत्पादकले बिना कारण पटक पटक गरी छडमा प्रतिकिलो ७ रुपैंया सम्म र सिमेन्टमा प्रतिबोरा ८० रुपैंया सम्म मुल्य बृद्धि गरेको भन्दै यसले उपभोक्ता र बिक्रेता व्यबसायीलाई असहज बनाएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । एकातिर मुल्य बृद्धि गर्ने र अर्कोतिर माग भन्दा ज्यादै कम आपूति गर्दा निर्माणको काममा समेत बाधा पुगेकाले प्रशासनले पहलकदमी उठाउन ज्ञापन पत्र मार्फत आग्रह गरिएको हो । आज संघका अध्यक्ष तथा पदाधिकारी सहितको टोली जिल्ला प्रशासन कार्यालयमा गई ज्ञापन पत्र बुझाउँदै छड सिमेन्टमा देखिएको असहज परिस्थितीलाई सहज बनाईदिन आग्रह गरिएको हो ।
ज्ञापन पत्र बुझ्दै जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी शम्भु रेग्मीले छड सिमेन्टमा भएको असहज परिस्थितीको बारेमा सञ्चार माध्यममा पनि समाचारहरु आईरहेको र यसले व्यबसायी तथा उपभोक्ता समेत मारमा परेको हुँदा तत्काल प्रशासनले पहलकदमी उठाउने बताउनु भयो ।
रुपन्देही हार्डवेयर व्यबसायी संघ र सिद्धार्थ निर्माण सामाग्रि व्यबसायी संघ बिचमा शनिबार मात्रै औपचारिक एकता भई रुपन्देही सिद्धार्थ निर्माण सामाग्रि व्यबसायी संघ बनाईएको थियो । संघको शनिबार नै बसेको कार्यसमितिको बैठकले छड सिमेन्टमा देखिएको असहज परिस्थितीलाई समाधान गर्नकालागि प्रशासनलाई ज्ञापन पत्र बुझाउने निर्णय गरेको थियो । सोही अनुसार नै ज्ञापन पत्र बुझाईएको संघका अध्यक्ष सुनिल मरासिनीले बताउनु भयो । सम्पन्न बैठकले निर्वाचन समिति, व्यबसायी तथा पत्रकार सबैलाई धन्यवाद ज्ञापन गरेको छ ।