
बुटवल, ९ जेठ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले वाल बिवाह अपराधमा चार जनालाई पक्राउ गरि दुई वटा मुद्धा दर्ता गरेको छ । कानुन अनुसार बालिकाको विवाह गर्ने उमेर नहुँदै विवाह गरिदिएको आरोपमा सोमबार जिल्ला अदालत रुपन्देहीमा चार जनालाई पक्राउ गरी दुईवटा मुद्धा दर्ता गरेको प्रहरीले जनाएको छ ।
रुपन्देहीको रोहिणी गाउँपालिका वडा नं. ७ की कक्षा ९ मा अध्ययनरत १४ वर्षीय बालिकालाई विवाह गरिदिएको आरोपमा पीडित बालिकाकी बुवा, आमा, दाई, श्रीमान र ससुराका बिरुद्धमा मुद्धा चलाएको हो । बालिकाको ईच्छा विपरित करकापमा पारि भारत महाराजगञ्जका २० वर्षीय युवकसंग विवाह गरिदिएको आरोपमा पीडित बालिकाको जाहेरीका आधारमा प्रहरीले मुद्धा चलाएको हो ।
विवाह पश्चात उनी महाराजगंजबाट भागेर रुपन्देही आई आफ्नै फूपूको सहारामा प्रहरीमा जाहेरी दिएको प्रहरीले जनाएको छ । उनको जाहेरीपछि प्रहरीले पीडित बालिकाकी आमा रुमछली मल्लाह र दाजु संजयकुमार मल्लाह पक्राउ गरी बालविवाह मुद्धामा म्याद थप गरी थप अनुसन्धान अंगाडी बढाएको र अपराधमा संलग्न पीडितका वुवा, बिवाह गर्ने केटा र केटाको वुवा, आमाको खोजी भईरहेको पनि प्रहरीले जनाएको छ ।
त्यस्तै रुपन्देहीकै समईमाई गाउँपालिका वडा नं. १ की १२ वर्षीय बालिकालाई सोही गाउँका एक युवक संग विवाह गरिदिएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरि मुद्धा अंगाडी बढाएको छ भने संलग्न अन्य फरार दुई जनालाई खोजीकार्य गरेको प्रहरीले जनाएको छ । सोही गाउँ बस्ने पुजारी भन्ने श्याम नारायण मिश्र र उनको छोरा लव मिश्रले वालिकाको वुवा आमालाई जानकारी नगराई भारत पन्जाबमा लगेर सोही गाउँका सुग्रिम कंहारको छोरा पवनकुमार कहारसंग जबरजस्ती बालविवाह गराएका थिए ।
बालिकाको बुवाले जवरजस्ती बालविवाह गराएको भन्दै प्रहरीमा दिएको जाहेरीका आधारमा बालिकालाई बिबाह गर्ने पवनकुमार कहार र उनको बुवा सुग्रिम कंहारलाई प्रहरीले पक्राउ गरि जिल्ला अदालत रुपन्देहीमा वालविवाह अन्तरगत मुद्धामा म्याद थप गरी अनुसन्धान अंगाडी बढाएको र फरार रहेका श्यामनारायण मिश्र, उनको छोरा लव मिश्रलाई खोजी भईरहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी बुटवलबाट तीन थान गैरकानुनी भरुवा बन्दुक सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । त्यसरी पक्राउ पर्नेमा बुटवल १२ ज्यामिरेका ५३ वर्षीय नन्दबिर गाहा र उनका छोरा १५ वर्षीय सागर गाहा रहेको प्रहरीले जनाएको छ । नन्दबिरको घरछेउमा आएको जंगली बिरालो मार्न सोमबार बेलुका छोरा सागरले चलाएको भरुवा बन्दुकको छर्राले छिमेकी नरबहादुर गाहाको छाती र अण्डकोषको छेउमा लागि घाईते भएपछि नरबहादुरको अहिले मेडिकल कलेज भैरहवामा उपचार भईरहेको प्रहरीले जनाएको छ । उक्त घटना पछि प्रहरीले गरेको अनुसन्धानका क्रममा घटनास्थल नजिकै ढुंगा मुनी लुकाई छिपाई राखेको गैर कानुनी तीन थान भरुवा बन्दुक र एक किलो छर्रा फेला परेको थियो । फेला परेको तीन थान बन्दुक र छर्रा बरामद गर्नुका साथै थप अनुसन्धानकालागि बाबु छोरालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।