बुटवल / आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर आगामी पाँच बर्ष भित्रमा पुरा गर्ने गरी नेपाली काँग्रेसले बुटवल उपमहानगरपालिका वडा नं. १३ मा स्थानीय घोषणा पत्र प्रकाशन गरि सार्वजनिक गरेको छ ।
बुधबार सोही वडामा एक कार्यक्रमको आयोजना गरि उक्त घोषणा पत्र सार्वजनिक गरिएको हो । घोषणा पत्र सार्वजनिक गर्दै बुथ समितिका सचिव खिमानन्द पौडेलले शिक्षा, स्वास्थ्य, सडक बिस्तार, खेलकुँद र बृद्धबृद्धालाई विशेष प्राथमिकतामा राखिएको बताउनु भयो ।
नेपाली काँग्रेसले उक्त वडामा रहेको अव्यबस्थित बसोबासको समस्या रहेको र उक्त समस्या समाधान गर्ने प्रतिवद्धता गरेको छ । सडक सुधार, प्राबिधिक शिक्षा, युवालाई रोजगारमुलक कार्यक्रम प्रतिवद्धता सहितको स्थानीय घोषणा पत्रमा महिला तथा बालबालिकालाई विशेष कार्यक्रम ल्याईने उल्लेख गरिएको छ । जेष्ठ नागरिकलाई उच्च सम्मानका साथ सामाजिक सुरक्षाको प्रतयाभूति गराईने घोषणा पत्रमा छ । त्यस्तै खेलकुँदको बिकासकालागि भएका खेलकुँद मैदानहरुलाई स्तरीय बनाउने र आवश्यकता अनुसार अन्य स्थानमा पनि खेलकुदको बिकासका आयामहरु थपिने उल्लेख गरिएको छ ।
स्थानीय घोषणा पत्र सार्वजनिक कार्यक्रममा वडा अध्यक्षका उम्मेदवार नारायणप्रसाद पुनले घोषणा पत्रमा उल्लेख गरिएका कुराहरु हुवहु कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
वडा सभापति पुरुषोत्तम बस्यालको सभापतित्वमा भएको उक्त कार्यक्रममा पार्टीले गठन गरेका २० वटा टोल समितिका संयोजकहरुले आ–आफ्नो टोलमा भएका कुराहरु रिपोर्टिङ् गरेका थिए । उक्त रिपोर्टका आधारमा पार्टीका उम्मेदवारहरुलाई जिताउनकालागि थप प्रयास गर्नकालागि पार्टीले टोल संयोजकहरु संग रिपोर्ट लिएको हो । उक्त कार्यक्रममा सदस्यका उम्मेदवारहरुले समेत भनाई राखेका थिए । बुटवल १३ मा नेपाली काँग्रेसले वडा अध्यक्षमा नारायणप्रसाद पुन, महिला सदस्यमा नमकला वेलवासे, दलिद महिला सदस्यमा पार्वती सुनार तथा खुल्ला सदस्यमा खुमानन्द पौडेल र झलबहादुर गुरुङ्लाई अंगाडी सारेर चुनावी अभियान सञ्चालन गर्दै आएको प्रचारप्रसार समितिका संयोजक नारायण खनालले जानकारी दिनुभयो ।