बुटवल, १ असार । रुपन्देहीको तिलोत्तमाका युवा व्यवसायी शिवकुमार लामिछानेले तिलोत्तमा नगरपालिका वडा नं. १३ को वडा अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिने भएका छन् ।
रिपोर्टर्स क्लव नेपाल रुपन्देहीद्धारा बिहिबार बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा लामिछानेले स्वतन्त्र उम्मेदवारी घोषणा गर्नु भएको हो ।
राजनीतिक दलहरुले सरकारी तथा सार्वजनिक निकायलाई चरम राजनीतिक अखडा बनाउँदा जनता राजनीतिक दलका गतिविधिप्रति दिक्क भएकाले जनताको माग अनुसार आफु स्वतन्त्र उम्मेदवारको रुपमा खडा भएको लामिछानेले बताउनु भयो ।
पाँचबर्ष सम्म विदेशमा श्रम गरेर नेपाल फर्केका लामिछानेले बिदेशमा जति मिहिनेत नेपालमा गर्ने हो भने नेपालमै पनि केही गर्न सकिन्छ र गर्नुपर्छ भन्ने भावनाले आफुले नेपालमै व्यवसाय गरेर सफल भएको दाबी गर्नुभयो ।
नेपालमै केही गरौं भन्ने भावना भएका युवाहरुलाई प्रोत्साहन गर्ने काम नेपालका राजनीतिक दलहरुले गर्न नसक्दा युवाहरु बिदेश पलायन हुने क्रम बढेको भन्दै उहांले आफुले चुनाव जिते युवा लक्षित कार्यक्रम मार्फत वडाका युवाहरुलाई बिदेश पलायन हुनबाट रोक्ने कार्यक्रम ल्याउने उद्घोष गर्नुभयो ।
आफुले चुनाव जिते वडा भित्र निर्माण हुने बिकास आयोजना चार बर्ष नपुग्दै भत्के÷बिग्रिए निर्माणको जिम्मा लिने ठेकेदार कम्पनीले नै मर्मत सम्भार गर्नुपर्ने नियम लागु गर्ने बताउनु भयो । उहांले वडा अध्यक्षले पाउने सेवा सुविधा बापतको रकम सडक बत्तिमा खर्च गरेर वडालाई रातीमा पनि उज्यालो बनाउने र चोरी डंकैति हुनबाट जोगाउने बताउनु भयो ।
आफुले चुनाव जिते एक महिना भित्रै वडावासीलाई एम्बुलेन्स सेवा प्रदान गर्ने र तीन महिना सम्म पनि केही गर्न नसके पदबाट राजीनामा दिने बताउनु भयो ।
विवेकशिल नेपाली दलको समर्थन आफुलाई रहेको र नयां शक्ति पार्टीले पनि समर्थन गर्ने प्रतिवद्धता जनाएको र वडावासी युवाहरुको समर्थन रहेकोले आफूले चुनाव जित्ने लामिछानेले दाबी गर्नुभयो । क्लवका अध्यक्ष प्रकाश खनालको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन पत्रकार कृष्ण खनालले गर्नु भएको थियो ।