बुटवल, ४ असार । राष्ट्रिय जनता पार्टीले स्थानीय तहको निर्वाचनमा भाग नलिने र निर्वाचन विथोल्ने गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेपनि दोस्रो चरणको निर्वाचन अन्तर्गत आईतवार ३३४ तहमा मनोनयन दर्ता भएको छ ।
दोस्रो चरणको स्थानीय तह निर्वाचन यही असार १४ गते बुधबार हुदैछ । यो निर्वाचनका लागि तीनवटा प्रदेशका ३३४ वटा स्थानीय तहमा उम्मेदवारी मनोनयन दर्ता भएको हो ।
मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूको कार्यालयमा आई उम्मेदवारहरुले मनोनयन दर्ता गराएका हुन् । उम्मेदवारी दर्ताका लागि आईतवार बिहान ८ देखि अपरान्ह ४ बजेसम्मको समय तय गरिएको थियो । संविधानसभाबाट बनेको संविधान कार्यान्वयन गर्ने क्रममा यो दोस्रो चरणको स्थानीय तह निर्वाचन हुन लागेको हो ।
प्रदेश नं १, ५ र ७ मा हुने निर्वाचनबाट एक महानगरपालिका, सात उपमहानगर, १ सय ११ नगरपालिका र २ सय १५ वटा गाउँपालिकाबाट १५ हजार ३८ जनप्रतिनिधि निर्वाचित हुनेछन् । स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि चार हजार ५ सय ८१ मतदानस्थल आठ हजार ३ सय ६४ मतदानकेन्द्र कायम गरिएको छ । दोस्रो चरणको निर्वाचनमा ६४ लाख ३२ हजार ७६५ मतदातालाई मताधिकार रहेको छ ।
अन्यत्र जस्तै रुपन्देहीमा पनि बिना अवरोध मनोनयन दर्ता भएको छ । मनोनयन दर्ताको दिन आईतबार रुपन्देहीमा उल्लासमय वातावरणमा मनोनयन दर्ता गरिएको दलहरुले प्रतिक्रिया दिएका छन् । उम्मेदवारी दर्ताका लागि विभिन्न राजनीतिक दलहरुले विभिन्न जातजाती, धर्म समुदायका भेषभुषा र संस्कृति झल्किने झाँकी र ¥याली सहित गरी उल्लेख्य रुपमा दलका कार्यकर्ताहरुलाई सहभागि गराएका थिए ।
एक उपमहानगरपालिका, ५ नगरपालिका र दश वटा गाउँपालिका गरि १६ वटा स्थानीय तह रहेको रुपन्देहीको बुटवल उपमहानगर पालिकामा मेयर पदका लागि १६ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालय बुटवल उपमहानगरपालिकाले जनाएको छ । १९ वटा वडा रहेको उपमहानगरपालिकामा ९७ पदकालागि ४३९ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत भरतमणी पाण्डेले जानकारी दिनुभयो ।
जसमध्ये नेपाली काँग्रेसको तर्फबाट मेयर पदमा खेलराज पाण्डे, नेकपा एमालेको तर्फबाट शिवराज सुवेदी, फोरम लोकतान्त्रिकबाट लोकनाथ पाण्डेय, राप्रपाको तर्फवाट मेयरमा टिका पौडेल र उप मेयरमा राम बहादुर थापाले उम्मेदवारी दिनु भएको छ । राष्ट्रिय जनमोर्चाले मेयरमा ढुण्डीराज शर्मा र उपमेयरमा शिरोमणि जोशीलाई उम्मेदवार बनाएको छ ।
नेपाल मजदुर किसान पार्टीबाट हरिसुन्दर बासी, राष्ट्रिय जनमुक्ति पार्टीबाट जनक थापा तथा स्वतन्त्र रुपमा होमबहादुर गलामी, ऋषिराम काफ्ले, रामप्रसाद पोखरेल, शान्तबिर बज्राचार्य र गणेश उचैले उम्मेदवारी दर्ता गराउनु भएको छ । बुटवल उपमहानगरपालिकामा नेपाली काँग्रेस र नेकपा माओवादीले चुनावी तालमेल गरेका छन् । जस अनुसार उपमेयरमा माओवादी केन्द्रबाट जगतबहादुर पोखरेलले उम्मेदवारी दर्ता गराउनु भएको छ भने एमालेको तर्फबाट गोमा आचार्यले उपमेयरमा उम्मेदवारी दर्ता गराउनु भएको छ ।
त्यस्तैगरी देवदह नगरपालिकामा मेयरमा ११ जना र उपमेयरमा ७ जनाको उम्मेदवारी परेको छ । सो नगरमा नेपाली काँग्रेस र माओवादी केन्द्रवीच चुनावी तालमेल भएको छ । जसअनुसार मेयर पदमा नेपाली काँग्रेसको तर्फबाट हिराबहादुर खत्री र उपमेयरमा माओवादी केन्द्रको तर्फबाट टीका न्यौपाने (गौतम)ले उम्मेदवारी दर्ता गराउनु भएको छ । त्यस्तै नेकपा एमालेबाट प्रमुखमा टिकाराम चापागाई र उपप्रमुख– विद्या गुरुङले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
तिलोत्तमा नगरपालिकामा ८७ पदका लागि ३५९ जनाको उम्मेदवारी परेको छ । जसअनुसार मेयरमा विभिन्न राजनीतिक दलका ८ र स्वतन्त्र ७ गरी १५ जना तथा उप मेयरमा ९ जनाको उम्मेदवारी दर्ता भएको छ ।
नेपाली काँग्रेस र राष्ट्रिय जनमुक्ति पार्टीबिच चुनावी तालमेल भएको तिलोत्तमामा मेयर पदमा नेपाली काँग्रेसको तर्फबाट रामकृष्ण खाँण र उपमेयरमा राष्ट्रिय जनमुक्ति पार्टीको तर्फबाट गीता सारुले उम्मेदवारी दर्ता गराउनु भएको छ । एमालेको तर्फबाट मेयर पदमा वासुदेव घिमिरे र उपमेयरमा जागेश्वरी चौधरी तथा माओवादी केन्द्रको तर्फबाट मेयरमा लक्ष्मण खनाल र उपमेयरमा राधिका आचार्य शर्माले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
त्यसैगरी राष्ट्रिय जनमोर्चा वाट मेयरमा रुकबहादुर पराजुली, नया शक्तिवाट ज्ञानप्रसाद भुर्तेल, राप्रपावाट लक्ष्मिप्रसाद पाठक, मजदुर किसान पार्टीवाट तुलसा विक र मधेसी जनअधिकार फोरमवाट हिक्मत थारु चौधरीले मेयरमा उम्मेदवारी दिनु भएको छ ।
तिलोत्तमा नगरमा काँग्रेस र जनमुक्तिको चुनावी तालमेल भएपनि चुनाव चिन्ह भने दुबै पार्टीको एउटै रुख हुने सहमति गरिएको र सोही अनुसार उम्मेदवारी दर्ता गरिएको नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं. ३ का सभापति प्रेमबहादुर फौदारले बताउनु भयो ।
त्यस्तैगरी जिल्लाको पुरानो नगरपालिका सिद्धार्थनगर नगरपालिकामा मेयरमा १० र उप मेयरमा ११ जनाको उम्मेदवारी परेको छ । जसअनुसार नेपाली काँग्रेसको तर्फबाट मेयर पदमा मात्रिकाप्रसाद यादव र उपमेयरमा माधवी शर्मा वाग्ले तथा एमालेको तर्फबाट मेयर पदमा हरि अधिकारी र उपमेयरमा उमा काफ्ले, तथा मेयर पदमा राप्रपाका सागर प्रताप राणाले उम्मेदवारी दर्ता गराउनु भएको छ । नगरपालिकामा राष्ट्रिय जनमोर्चाको तर्फवाट मेयरमा तारानाथ आचार्य र उपमेयरमा लक्ष्मि ढुँगानाको उम्मेदवारी परेको छ ।
सैनामैना नगरपालिकामा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी मेयर र उपमेयर पदमा सामान १३ जनाको उम्मेदवारी परेको छ । जसअनुसार नेपाली काँग्रेसको तर्फबाट फणेन्द्र शर्मा वाग्ले र उपमेयरमा लक्ष्मी चौधरीले उम्मेदवारी दर्ता गराउनु भएको छ । त्यस्तै एमालेको तर्फबाट मेयर पदमा चित्रबहादुर कार्की र उपमेयरमा विना रानामगरले उम्मेदवारी दर्ता गराउनु भएको छ भने नेकपा माओवादीको तर्फबाट मेयर पदमा नारायण न्यौपाने र उपमेयरमा बिन्दु सापकोटाले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने, गौतम बुद्धको जन्मस्थल लुम्बिनी सांस्कृतिक नगरपालिकामा नेपाली काँग्रेसको तर्फबाट मेयर पदमा मोहम्मद सईद खाँ र उपमेयरमा रमावती यादवले उम्मेदवारी दर्ता गराउनु भएको छ । त्यस्तै एमालेको तर्फबाट मेयर पदमा ईन्साफ मुसलमान र उपमेयरमा गोमा गुरुङ, माओवादी केन्द्रको तर्फबाट प्रमुखमा हरिबहादुर यादव र उपमेयरमा कल्पना हरिजनले उम्मेदवारी दिनुभएको छ ।
त्यस्तैगरी सियारी गाउँपालिकामा नेपाली काँग्रेसको तर्फबाट प्रमुखमा थानेश्वर घिमिरे र उपप्रमुखमा रीता चौधरी, एमालेको तर्फबाट प्रमुखमा अयोध्या चौधरी र उपप्रमुखमा अमृता गुरुङ, माओवादी केन्द्रको तर्फबाट प्रमुखमा गोपाल पोखरेल र उपप्रमुखमा धनकुमारी चौधरीले उम्मेदवारी दिनुभएको छ । यस्तै राप्रपावाट प्रमुखमा रंगनाथ गुप्ता, संघीय समाजवादी फोरमको तर्फवाट राजपाका केन्द्रीय सदस्य उमाशँकर यादवले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
सुद्धोधन गाउँपालिकामा नेपाली काँग्रेसको तर्फबाट प्रमुखमा भगवतीप्रसाद चौधरी र उपप्रमुखमा रामेश्वरी सिंह, एमालेको तर्फबाट प्रमुखमा किसुनचन चौधरी र उपप्रमुखमा शान्ता ज्ञवाली, माओवादी केन्द्रको तर्फबाट प्रमुखमा गोबिन्द चौधरी र उपप्रमुखमा बिष्णु कार्कीले उम्मेदवारी दिनुभएको छ । ओमसतीया गाउँपालिकामा नेपाली काँग्रेसको तर्फबाट प्रमुखमा महेन्द्रप्रसाद चौधरी र उपप्रमुखमा अमृता उप्रेती पोख्रेल, एमालेको तर्फबाट ईन्द्रजीत यादव र उपप्रमुखमा राजकुमारी चौधरी तथा माओवादी केन्द्रको तर्फबाट हिराकुमार केवट र उपप्रमुखमा सुन्दरमतीकुमारी हरिजनले उम्मेदवारी दिनुभएको छ ।
कञ्चन गाउँपालिकामा काँग्रेसको तर्फबाट प्रमुखमा डोलबहादुर थापा र उपप्रमुखमा तीर्थकुमारी थारु, एमालेको तर्फबाट प्रमुखमा गोकर्ण क्षेत्री र उपप्रमुखका गोमा तरामु, माओवादी केन्द्रको तर्फबाट प्रमुखमा बिनोदकुमार पुन र उपप्रमुखमा कुमारी घर्तीले उम्मेदवारी दिनुभएको छ । कोटहीमाई गाउँपालिकामा काँग्रेसबाट प्रमुखमा बिदेन्द्र जैसवाल र उपप्रमुखमा सम्पत्ती यादव तथा एमालेको तर्फबाट प्रमुखमा विन्द्याचल यादव र उपप्रमुखमा गंगादेवी ठटेरले उम्मेदवारी दिनुभएको छ ।
त्यस्तै गैडहवा गाउँपालिकामा काँग्रेसबाट प्रमुखमा वसीउल्लाह मुसलमान र उपप्रमुखमा मञ्जु न्यौपाने, एमालेबाट प्रमुखमा सुरेन्द्रकुमार पौडेल र उपप्रमुखमा कलावती जैसवाल, माओवादी केन्द्रबाट प्रमुखमा पुष्परत्न पाण्डे र उपप्रमुखमा सरस्वती थारुले उम्मेदवारी दिनुभएको छ । मर्चवारी गाउँपालिकामा काँग्रेसबाट प्रमुखमा ज्ञानप्रकाश मिश्र र उपप्रमुखमा श्रीकान्ति बरई, एमालेको तर्फबाट प्रमुखमा कमलेस यादव र उपप्रमुखमा बिन्दा गौणले उम्मदेवारी दिनु भएको छ ।
मायाँदेवी गाउँपालिकामा काँग्रेसबाट प्रमुखमा ध्रुवनारायण चौधरी र उपप्रमुखमा कान्ति यादव, एमालेबाट प्रमुखमा रामचन्द्र यादव र उपप्रमुखमा द्रौपदी चौधरी तथा माओवादी केन्द्रले प्रमुखमा सन्तकुमार यादवलाई मात्र उम्मेदवार बनाएको छ । यस्तै रोहिणी गाउँपालिकामा नेपाली काँग्रेसबाट प्रमुखमा अकवाल खाँ र उपप्रमुखमा चन्द्रवती देवी योगी तथा एमालेबाट प्रमुखमा नरसिंह चौधरी र उपप्रमुखमा अनिता हरिजन, माओवादी केन्द्रबाट प्रमुखमा प्रदिप पाण्डे र उपप्रमुखमा सरस्वती गुप्ताले उम्मेदवारी दिनुभएको छ ।
त्यसैगरी समरीमाई गाउँपालिकामा काँग्रेसबाट प्रमुखमा बिनोद श्रीवास्तव र उपप्रमुखमा प्रियंका सिंहले उम्मेदवारी दर्ता गराउनु भएको छ भने एमालेबाट प्रमुखमा सुभान मुसल्मान र उपप्रमुखमा रेश्मी धोवी, माओवादी केन्द्रबाट प्रमुखमा शुहाबुद्धिन देवान तथा उपप्रमुखमा सुनिता सहनीले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
उम्मेदवारी दर्तापछि सवैदलका उम्मेदवारहरुले प्रतिक्रिया दिंदै गाउँ र नगरको विकास गर्ने प्रतिवद्धता जनाएका छन् । उनीहरुले आफ्नो पार्टीको घोषणा पत्र र आफुले गरेका प्रतिवद्धता अनुसार जनताको काम गर्ने बताएका छन् ।