बुटवल, ६ असार । नेकपा एमाले तिलोत्तमाले नगरभित्रका मुख्य मुख्य सडकलाई आगामी पाँच वर्षभित्रमा दुई लेनको सडकमा स्तरोन्नती गरिने योजना अगाडि सारेको छ ।
सवारी साधनको बढ्दो चांपलाई मध्यनजर गर्दै एमालेले यस्तो योजना ल्याएको हो । योजना अनुसार तिनाउ र रोहिणी कोरिडोर हुँदै सबै नगर क्षेत्रको सीमानामा पर्ने गरी दुई लेनको चक्रपथ निर्माणको कार्य पाँच वर्षभित्रमा सम्पन्न गरिने छ ।
स्थानीय तह निर्वाचनका सन्दर्भमा पार्टीले जारी गरेको प्रतिबद्धतापत्रमा यस्तो योजना उल्लेख छ । अहिले नगरभित्रका धेरै सडक सिंगल लेनका छन् भने ती पनि भत्किएर जीर्ण भएका छन् । ‘नगर क्षेत्रअन्तर्गत पर्ने तिनाउ र रोहिणी कोरिडोरमा दुवैतर्फ वृक्षारोपण गरी दुई लेनको हरियाली सडक निर्माण गर्न पहल गरिने छ”–प्रतिबद्धतापत्रमा भनिएको छ, ‘नगरभित्र भैरहेका सडकको स्तरोन्नती गर्ने तथा अब बन्ने नयाँ सडकको न्यूनतम मापदण्ड कायम गरी गुणस्तरीय सडक बिस्तार गरिने छ ।’
एमाले तिलोत्तमा नगरपालिकाका मेयर पदका उम्मेदवार वासुदेव घिमिरेले तिलोत्तमा नगरलाई सडक पूर्वाधारको हिसावले पनि नमूना बनाउने योजना अगाडि सारिएको बताउनु भयो ।
नगर क्षेत्रभित्र ढलको समुचित व्यवस्था गरिने र अब बन्ने नयाँ सडकमा ढल निर्माण सम्बन्धी कार्य अनिवार्य रुपमा लागु गरिने उहांले बताउनु भयो । घिमिरेका अनुसार निर्माण गरिने चक्रपथको समानान्तर ट्राम र अत्याधुनिक मेट्रो रेलको निर्माणका लागि सम्भाव्यता अध्ययन गरी पाँच वर्षभित्र कार्यान्वयन गर्न पहल गरिने छ । यो महत्वाकांक्षी योजना कार्यान्वयनका लागि आफू नगरपालिकाको नेतृत्वमा आएपछि मात्र सम्भव हुने उहांको भनाई छ ।
नगरको एकीकृत सहरी विकास गुरुयोजना एवं आवधिक नगर विकास योजना तर्जुमा गरी पार्टीले गरेका प्रतिवद्धता कार्यान्वयनमा ल्याइने उपमेयरकी उम्मेदवार जागेश्वरी चौधरीले बताउनु भयो ।