बुटवल, १४ असार । स्थानीय तहको निर्वाचन अन्तरगत प्रदेश नं. १, ५ र ७ मा आज चुनाव भईरहेको छ । त्यसमध्ये रुपन्देही जिल्लामा शान्तिपूर्ण रुपमा निर्वाचन सुचारु भएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख होमनाथ गौतमले जानकारी दिनुभयो ।
बिहान सातबजेदेखि सुरु हुने भनिएपनि केही स्थानमा वर्षातका कारणले आधा घण्टासम्म ढिलागरी मतदान सुरु भएको केन्द्र प्रमुखहरुले जानकारी गराएका छन् । दश वजेसम्म करिव २० प्रतिसत भोट खसेको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले जनाएको छ । जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख गौतमका अनुसार १० बजेसम्म प्रत्येक मतदान केन्द्रमा करिव दुई÷ढाई सयको हाराहारीमा मतदान भएको छ ।
बिहान ठूलो पानी परेकाले केही स्थानमा केही ढिला मतदान सुरु भएपनि साँझ ५ बजेसम्म लाईनमा बस्नेले मतदान गर्न पाउने उहाँले जानकारी गराउनु भयो ।
वर्षातका समयमा भएको निर्वाचनमा पानी परेकाले मतदाताहरु छाता लिएर मतदान गर्न आएका छन् । बिहान सातबजेदेखि मतदान सुरु हुने भएपनि मतदाता भने सबेरैदेखि मतदान केन्द्रमा आएर लामवद्ध भएर बसेका थिए । दिउँसो गर्मि हुने भएकाले पनि मतदाता बिहानै सितलमा नै मतदान गर्नकालागि सबेरै आएर लामवद्ध बसेका हुन् ।
मतदानकालागि बृद्ध तथा अपाङ्गता भएका व्यक्तिलाई छुट्टै व्यबस्था भएपनि मतदान केन्द्रसम्म जान आउन उनीहरुलाई समस्या भएको देखिन्छ । यद्यपी उनीहरु समेत मतदानमा उत्साहकासाथ सहभागि भएका छन् ।
एक उपमहानगरपालिका, ५ नगरपालिका र १० गाउँपालिका रहेको रुपन्देही जिल्लामा १ सय ५५ वटा वडा छन् । जसमध्ये ४५२ केन्द्रमा अहिले निर्वाचन भईरहेको छ । कोटईमाई गाउँपालिका वडा नं. १ मा माओवादी केन्द्रबाट वडा सदस्यका उम्मेदवार मुरारी मल्लाहको निधनका कारण उक्त वडामा भने १६ गते निर्वाचन हुनेछ । रुपन्देही जिल्लामा ४ लाख ६२ हजार ५ सय ८६ जना मतदाता छन् ।

बुटवल वडा नं. ३ को मतदान केन्द्र बुटवल बहुमुखी क्याम्पस मतदान केन्द्रमा मतदान गरेर फर्किदै गरेकी बृद्ध अपांगता भएकी महिला । तस्वीर/कबिन्द्र नेपाल, खेमानन्द पाठक -लुम्बिनी अनलाईन
urna-