चिण्डिट्स स्मृति दिवसमा भुपू पूनमिलन

1.3K

चिण्डिट्स स्मृति दिवसमा भुपू पूनमिलन

बुटवल, २५ असार । चिण्डिट्स स्मृति दिवसको अवसर पारेर भारतीय सेनाबाट निबृत्त भुपू सैनिकहरुले भुपू सैनिक पुनमिलन कार्यक्रम गरेका छन् ।दोस्रो विश्व युद्ध सुरु भएपछि ९ जुलाई सन् १९४४ मा उच्च कोटिको लडाई भएको थियो । उक्त लडाईमा थर्ड बटालिएन नबौं गोरखा राईफलले अद्वितीय शाहस देखाएको भन्दै उक्त वटालियनलाई चिण्डिट्स उपाधी प्राप्त भएको थियो ।

उक्त दिनको सम्झनामा यस क्षेत्रका थर्ड बटालिएन नबौं गोरखा राईफलबाट अवकास प्राप्त भुपूहरुले स्मृति दिवस मनाउँदै आएका छन् । सोही अनुसार ९ जुलाई सन २०१७ का दिन आईतबार रुपन्देही, नवलपरासी र कपिलबस्तुका सोही बटालियनबाट सेवा निबृत्त भएका भुपूहरुले बुटवलमा भुपू पुनमिलन कार्यक्रम गरी स्मृति दिवस मनाएका हुन् ।

चिण्डिट्स डे समारोह समितिले आयोजना गरेको कार्यक्रममा क्याप्टेन धनबहादुर खत्रीले चिण्डिट्स उपाधी प्राप्त गर्नु सामान्य कुरा नभएको उल्लेख गर्दै यसको स्मृति दिवस मनाउँदा भुपूहरुको पुनमिलन पनि हुने भएकाले यो कार्यक्रमलाई निरन्तरता दिन आवश्यक रहेको बताउनु भयो । उहाँले यस्ता कार्यक्रमले भुपूहरुको हकाधिकारकालागि आवश्यक उठान गर्न र समस्या समाधानका उपाय खोज्न समेत सहयोग मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तैगरी भुपू सैनिक बोर्ड रुपन्देहीका सेक्रेटरी पदमप्रताप जिसीले भुपूहरुले लापरवाही गरेर समयमा कागजातहरु राम्रोसंग नमिलाउँदा पछि समस्या हुने गरेको स्मरण गराउँदै सयमयै कागजात मिलाउन र पछि आउने सम्भावित आफू र आफ्ना परिवारका समस्या समयमै निर्मुल पार्न आग्रह गर्नुभयो ।

कार्यक्रममा क्याप्टेन यमबहादुर खत्रीले चिण्डिट्स डेका बारेमा प्रकाश पार्नुभएको थियो । चिण्डिट्स डे समारोह समितिका अध्यक्ष हरिप्रसाद ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रम समितिका कोषाध्यक्ष क्याप्टेन भरतबहादुर थापाले बार्षिक आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने उपाध्यक्ष सुवेदार खुमबहादुर सिंह ठकुरीको स्वागत र सचिव सुवेदार लेखबहादुर खत्रीको सञ्चालनमा भएको थियो । सो अवसरमा दुई जना जेष्ठ सदस्यलाई सम्मान गरिएको थियो । सोही वटालिनबाट अवकास प्राप्त क्याप्टेन धनबहादुर खत्री र हवल्दार भक्तबहादुर थापालाई सम्मान गरिएको हो ।