देवदह, साउन ५ । रुपन्देहीको देवदह वडा नं ६ मा एक बालकको खेतको पोखरीमा डुबेर मृत्यु भएको छ । आशिष बुढाथोकी नाम गरेको वर्ष ६ को बालक घर नजिक रहेको खेतको पोखरीमा पौडि खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।
जग्गाधनीको लापरवाहिको कारण बालकको मृत्यु भएको स्थानियहरुले आरोप लगाएका छन् । जग्गाधनी गोविन्द बमरेलले खेतबाट ढुङ्गा निकालेर बेच्ने गरेको तर खाल्टो समयमानै नपुरेको हुनाले उक्त घटना घट्न गएको स्थानिय धनु रानाले बताईन् ।
घरका दुबै बावु आमा गोरे बुढाथोकी र मिना बुढाथोकी मजदुरी काम गर्न गएकोे बेला उक्त घटना घटेको बताइएको छ । दुई छोरी र एक छोरा मध्ये कान्छो छोरा युगज्योति माध्यमिक बिद्यालयमा पढ्ने आशिष बुढाथोकीको मृत्यु भएको हो ।
बेहोस अवस्थामा रहेको बालक उपचारको क्रममा देवदह मेडिकल कलेज भलुहीमा मृत्यु भएको प्रहरी नायव निरिक्षक कर्णबहादुर खड्काले बताए । वर्षादको समयमा पानी परिहने हुदा खनेको खाल्डोमा पानी बढी जम्मा भएपछि यस्तो घटना भएको उनले बताए ।
उता जग्गाधनीले आफ्नो मात्र फाइदा हेरेर काम गरेको तर समुदायप्रति चासो नदिदा खाल्डो पुर्ने काम रोकिएको हुनाले आज यो स्थिती सृजना भएको स्थानियहरुले बताएका छन् । मृतकको परिवार मजदुरी गरेर खाने भएकाले गरिव परिवारको अवस्था हेरेर क्षतिपुर्ति दिनुपर्ने स्थानियहरुले माग समेत गरेका छन् ।