बुटवल, ६ साउन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टीले अपेक्षा गरेअनुसारको परिणाम नआएपनि मुलुकभरको नतिजा हेर्दा निराशाजनक नभएको बताउनु भएको छ ।
पार्टीको नेतृत्वको कमीकमजोरीका कारण नै नेपाली काँग्रेसले अपेक्षा गरे अनुसारको जीत हासिल गर्न नसकिएको बताउँदै उहाँले अवका निर्वाचनमा पार्टीलाई कसरी शक्तिशाली बनाउन सकिन्छ, समिक्षा गरेर त्यसतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । ‘यसमा मतदाताको कुनै दोस छैन ।’ उहाँले भन्नुभयो–‘पार्टीमा लिडिङ् गर्ने हामीहरुले सहि भूमिका खेल्न सकिएन ।’
३५ औं विपी स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस रुपन्देहीले देवदह नगरपालिका वडा नं. १० चरङ्गेमा शुक्रबार गरेको बृक्षारोपण कार्यक्रममा बोल्दै पूर्व मन्त्री समेत रहनुभएका काँग्रेस नेता खाँणले हल्ला जस्तो निराशाजनक अवस्था भने नभएको प्रष्ट पार्नुभयो । समग्रमा काँग्रेस र एमालेको मत करिव बराबरी रहेकाले एमालेले सबै लग्यो की भनेर अत्तालिहाल्नु पर्ने अवस्था नभएको उहाँले उल्लेख गर्नुभयो । नेपाली काँग्रेसको जीवनमा यस्ता उतारचढाव धेरै आएको बताउँदै निर्वाचनको सार्थक विश्लेषण गरेर आगामी निर्वाचनमा अंगाडी बढ्नुपर्नेमा जोड दिनुभयो । ‘कतिपय साथीहरुले माओवादीसंग मिलेकाले चुनाव हारियो भन्नुभएको छ ।’ उहाँले भन्नुभयो–‘निर्वाचनकालागि सार्थक विश्लेषण गर्न आवश्यक छ, पार्टीको नीतिमा कार्यकर्ता पनि ईमान्दार बन्नुपर्छ ।’
प्रजातन्त्रकालागि शान्तिपुर्ण आन्दोलन गर्दै गर्दा तत्कालिन अञ्चलाधिसले नेपाली काँग्रेसलाई राजद्रोहको मुद्धा लगाएको थियो । अहिले एमालेले त्यही शैली अपनाएको छ । उहाँको भनाई छ । विपीको बिचार र दृष्टिकोण अहिले पनि उत्तिकै सार्थक र उपयोगी रहेको उहाँले विश्वास व्यक्त गर्नुभयो । 
कार्यक्रममा नेपाली काँग्रेस रुपन्देहीका सभापति तथा सांसद अब्दुल रज्जाक, पूर्व राज्यमन्त्री दुर्योधन सिंह चौधरी, नेपाली काँग्रेस रुपन्देहीका पूर्व सभापति रामचन्द्र ढकाल, रुपन्देही क्षेत्र नं. १ का सभापति तथा देवदह नगरपालिकाका मेयर हिराबहादुर खत्री, जिल्ला सचिव रामकृष्ण खाँण, जिल्ला सदस्य मायाँ गौतम, महिला नेतृ रमा अर्याल, सोही वडाका वडा अध्यक्ष एकबहादुर सुनार लगायतले विपीको बारेमा चर्चा गर्दै विपीले देखाएको बाटोमा हिंड्न सकेमात्रै विपीप्रति सच्चा सम्मान हुने बताएका थिए ।
त्यसैगरी नेपाली काँग्रेसका संस्थापक नेता विपी कोईरालाको ३५ औं स्मृति दिवसको अवसर पारेर नेपाली काँग्रेस बुटवल नगर समितिले विपीको शालिकमा माल्यार्पण गरेको छ । स्मृति दिवसको अवसर पारेर शुक्रबार बुटवल वडा नं. ६ मा रहेको विपीको शालिकमा माल्यार्पण गर्नुका सार्थ विपीका बारेमा चर्चा गरिएको थियो ।
नेपाली काँग्रेस बुटवल नगर समितिका सभापति खेलराज पाण्डेको सभापतित्वमा भएको कार्यक्रममा महाधिवेशन प्रतिनीधिहरु रामबहादुर कार्की, युवराज गिरी, क्षेत्र नं. ४ रुपन्देहीका उपसभापति परसुराम ढकाल, वडा नं. १९ का नेपाली काँग्रेसबाट निर्वाचित वडा अध्यक्ष भिमबहादुर खत्री, वडा नं. ६ का वडा सभापति कृष्ण न्यौपाने, महिला नेतृ सावित्रा टण्डन लगायतले विपीले प्रतिपादन गरेको सिद्धान्त, बिचार तथा दृष्टिकोण अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताएका थिए । नगर समितिका उपसभापति बिमलराज भट्टराईको स्वागत र सचिव ज्योति भण्डारीको सञ्चालनमा कार्यक्रम भएको थियो ।
त्यस्तै शुक्रबार नै नबौं वार्षिकोत्सवको अवसर पारेर मिलन सामुदायिक बनले विपी स्मृति बन बाटिकामा बृक्षारोपण गर्नुकासाथै निर्वाचित जनप्रतिनीधिलाई सम्मान गरेको छ । उक्त बनले बन क्षेत्र भित्रका जनप्रतिनीधिलाई सम्मान गरेको हो । मिलन सामुदायिक बन देवदहको वडा नं. ८ र ९ तथा तिलोत्तमा नगरपालिकाको ११ नं. वडा बन क्षेत्रमा पर्दछ ।
उक्त कार्यक्रममा सांसद तथा नेपाली काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाक, देवदह नगरपालिकाका नव निर्वाचित मेयर हिराबहादुर खत्री, उपमेयर विध्यालक्ष्मी गुरुङ्, नेपाली काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँण, रमेश पोखरेल लगायतले बनको संरक्षणकालागि बृक्षारोपण अपरिहार्य रहेको बताएका थिए ।
मिलन सामुदायिक बनका अध्यक्ष तेजबहादुर कुवँरको अध्यक्षतामा भएको कार्यक्रममा तेजबिर दर्लामीले स्वागत र सहसचिव चोलीमायाँ रानाले सञ्चालन गर्नुभएको थियो ।