बुटवल, १७ साउन । नेपाल पत्रकार महासंघ रुपन्देहीको निर्वाचन प्रकृयामा असहमती जनाउँदै आन्दोलनमा रहेका पक्षसंग महासंघ रुपन्देहीले क्षमा याचना गरेको छ ।
महासंघ रुपन्देहीको निर्वाचनमा भएका कमीकमजोरी पुन दोहोरिन नदिने प्रतिवद्धता व्यक्त गर्दै निर्वाचन समितिबाट भएका त्रुटिप्रति महासंघले क्षमा याचना गरेको हो ।
आज मंगलबार नेपाल पत्रकार महासंघ, निर्वाचन प्रकृयामा असहमति जनाउँदै आन्दोलनरत पक्ष र महासंघ सम्वद्ध बिभिन्न पक्षसंग भएको सर्वपक्षीय बैठकमा महासंघले लिखित रुपमा क्षमायाचना गरेपछि आन्दोलनरत पक्षले गर्दै आएको आन्दोलनका कार्यक्रम फिर्ता लिने सहमति भएको छ ।
नेपाल पत्रकार महासंघलाई साझा बनाउनका लागि सबै पत्रकार संघ, संगठनले अनुभूति र अपनत्व महसुस हुने गरी सहकार्य गरेर अंगाडी बढ्ने महासंघले प्रतिवद्धता गरेको छ । आन्दोलनरत पक्षलाई सम्बोधन गर्नेगरी महासंघको सल्लाहकारमा आन्दोलनरत पक्षलाई समेट्ने गरी कार्यसमितिमा छलफल गर्ने सहमति भएको सहमति पछि जारी प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ ।
त्यस्तै पत्रकार महासंघ रुपन्देहीका सदस्यहरुको सुदृणिकरणकालागि महासंघले सबै पत्रकार संघ, संगठनहरुको सहकार्यमा कार्यप्रारम्भ गर्ने निर्णय सहित आन्दोलनरत पक्षबाट घोषणा भएका आन्दोलनका कार्यक्रम फिर्ता लिने सहमति भएको छ ।
नेपाल पत्रकार महासंघ रुपन्देहीको गत फागुन तीन गते भएको अधिवेशनमा निर्वाचनको प्रकृयामा असहमति जनाउँदै नेपाल प्रेस युनियन, प्रेस सोशाईटी रुपन्देही र संघीय पत्रकार परिषदले आन्दोलन गर्दै आएका थिए ।
बैठकमा महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसी, उपाध्यक्ष दिनेश पाण्डे, निरु गौतम, सचिव रामप्रसाद आचार्य, आन्दोलनरत पक्षका तर्फबाट वार्ता समितिका संयोजक रामराज पोखरेल, सदस्यहरु डायलसन अधिकारी, यमलाल भुसाल, प्रेस युनियन रुपन्देहीका सभापति बिक्रम खड्का, प्रेस सोशाईटी रुपन्देहीका अध्यक्ष रमेश पोखरेल, संघीय पत्रकार परिषदका केन्द्रीय सचिव सोनु थापा मगर, जिल्ला अध्यक्ष लोकनेश ढेँगा सहभागि हुनुहुन्थ्यो ।
त्यस्तै बैठकमा प्रेस चौतारी रुपन्देहीका अध्यक्ष अमृत गिरी, प्रेस सेन्टर रुपन्देहीका अध्यक्ष भुवन कार्की, प्रगतिशिल पत्रकार संघ रुपन्देहीका अध्यक्ष श्याम पोखरेल, क्रान्तिकारी पत्रकार संगठन रुपन्देहीका अध्यक्ष प्रकाश डुम्रे सहभागि हुनुहुन्थ्यो ।