स्थानीय तहमा कर्मचारी खटाउनै समस्या

1.3K

स्थानीय तहमा कर्मचारी खटाउनै समस्या

मुक्तिप्रसाद न्यौपाने/पाल्पा, १८ साउन । स्थानीय तहको निर्वाचन सम्पन्न भएको एक महिना बितिसक्दा पनि जिल्लाका स्थानीय तहमा भने कर्मचारी पुग्न सकेका छैनन् । केही कार्यालयले कर्मचारी खटनपटन गरे पनि केही भने अन्यौलमै छन् । कोष तथा लेखा नियन्त्रण कार्यालयले भने साउन २ गते नै जिल्लाका तहमा तलबभत्ता लगायतका सेवा सुविधा स्थानीय तहमा पठाइसकेको छ । आव २०७४÷०७५ को प्रथम चौमासिक निकासा स्थानीय तहमा पुगेको हो ।
तलव भत्ता लगायत कर्मचारीहरुको सबै सेवा सुविधा स्थानीय तहमा पुगेपनि कर्मचारीहरु भने स्थानीय तहमा पुगेका छैनन् । जिल्ला समन्वय समिति, जिल्ला स्वास्थ्य कार्यालय, महिला तथा बालबालिका कार्यालय र जिल्ला शिक्षा कार्यालयले कार्यरत कुन कर्मचारी कुन तहमा खटीने टुङ्गो लगाएको छ । तर कर्मचारी खटनपटनको निर्णय गरिसकेपनि स्थानीय तहमा कर्मचारी खटाउन भने सकेको छैन ।

पाल्पाका प्रमुख जिल्ला अधिकारी बाबुराम गौतमले नायव सुब्बा वा सो तहभन्दा तलका कर्मचारी खटनपटनमा आफुहरु लागिरहेको बताउनु भयो । कर्मचारी व्यवस्थापन समिति संयोजक रहेका प्रजिअ गौतम भन्नुभहुन्छ, ‘सबै तहमा विषयगत कार्यालय अनुसार कर्मचारी पुग्न नसकेको हो । जिल्लाको कृषि विकास, पशुसेवा, वन र भूसंरक्षण कार्यालयले भने अहिलेसम्म कुन कर्मचारी कहाँ जाने भन्ने निर्णय नै गरेको छैन ।’ मालपोत र नापी कार्यालयले तह अनुसार नापजाँचको रेकर्ड तयार पारेपछिमात्र कर्मचारी खटीनेछन्, प्रजिअ गौतमले भन्नुभयो ।

जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा. प्रदीप शर्माले आफुहरुले छिटै स्थानीय तहमा कर्मचारी खटाउने तयारी गरेको बताउनु भयो । उहाँ भन्नुहुन्छ, ‘जिल्लाका प्राविधिक सेवा तथा अन्य सेवामा रहेका कर्मचारीहरुलाई कहाँकहाँ कसरी खटाउने आन्तरिक तयारी गरिरहेका छौं । छिटोभन्दा छिटो निर्णय गछौं ।’ जिल्ला कृषि विकास र वन कार्यालय अन्तर्गतका कर्मचारी खटनपटन सम्बन्धमा मन्त्रालयले छुट्टाछुट्टै नियम बनाएको बताईएको छ । जिल्ला स्वास्थ्य कार्यालयका एक कर्मचारीले आफु खटीएको स्थानमा गएता पनि बस्ने समेत स्थान नतोकिँदा कामकाजमा समस्या परेको बताउनु भयो । उहाँले खटीएको स्थानमा पुगेर फर्कने काममात्र भएको बताउनु भयो ।

जिल्ला स्थित घरेलु तथा साना उद्योग कार्यालयलाई तानसेन नगरपालिकामा गाभिएको छ । तानसेन नगर कार्यपालिका, उद्योग विकास शाखाको रुपमा राखिएको छ । कार्यालयका शाखा अधिकृत बालकृष्ण गैरेले आफुहरुले समायोजनपछि पनि कार्यक्षेत्रबारे अन्योल रहेको बताउनु भयो । उहाँ भन्नुहुन्छ, ‘तानसेन नगरपालिकाका अन्तर्गत समावेश भएका छौं । जिल्ला भरको काम गर्न भनिएको छ । तानसेन नगरपालिकाको छाप बनाएर कसरी जिल्लाभर काम गर्ने ?’ कर्मचारी व्यवस्थापन समितिका सदस्य सचिव स्थानीय विकास अधिकारी रामप्रसाद पाण्डे कतिपय खटीएका कर्मचारी प्रशासनिक कार्य गर्न बाँकी भएका कारण स्थानीय तहमा पुग्न नसकेको बताउनुहुन्छ ।

‘जिल्ला सदरमुकाममा बसोबास गर्दै आएका कर्मचारीलाई तहमा जान केही आलटाल गरेको पाईएको छ । केन्द्रबाटै ३५ दिनभित्र नगए कारबाही हुने कुरा आएको छ । खटीएको ठाउँमा कर्मचारी नपुग्न मिल्दैन’ पाण्डेले भन्नुभयो–‘जनप्रतिनिधीहरुले पनि आफ्नो तहमा खटीएका कर्मचारीलाई व्यवस्थापन जिम्मेवारी लिन आग्रह बैठकमा गरेको छु ।’

पाल्पामा १० स्थानीय तह छन् । तर, एउटा पनि स्थानीय तहले सममायोजन भएर आएका कर्मचारीलाई कहाँ कसरी राख्ने भन्ने कार्ययोजना बनाएका छैनन् । विभिन्न कार्यालयका कर्मचारीहरु समेत स्थानीय तहमा नै समायोजन भएपछि कसरी व्यवस्थापन गर्ने समस्या गाउँपालिका र नगरपालिकालाई पनि परेको छ । भौतिक संरचनाको अभावमा कर्मचारी व्यवस्थापन अन्यौल अझै रहेको रम्भा गाउँपालिकाका अध्यक्ष बिष्णु भण्डारीले बताउनु भयो ।

जिल्लाका सबै विद्यालयका शिक्षकहरुको तलब अबदेखि स्थानीय तहबाट पाउनेछन् । कोलेनिकाले यो चौमासिकमा शिक्षकहरुको तलव लगायत विद्यालयलाई जाने सबै सेवासुविधा स्थानीय तहमा पठाएको छ । तर शिक्षा कार्यालयले खटाएका विद्यालय निरिक्षक स्रोत व्यक्तिहरु समेत स्थानीय तहमा आफुभन्दा तल्लो तहको कर्मचारीले खटाउने गरि काम गर्न जान नसक्ने बताउँदै आएका छन् ।
स्थानीय तहका प्रमुखहरुले वाषिर्क बजेट र नीति नियम बनाउनु पर्ने समयमा सबै कर्मचारी तहमा आईनपुग्दा समस्या पर्न सक्ने बताएका छन् । माथागढी गाउँपालिका अध्यक्ष सन्तोष थापाले विषयगत कार्यालयबाट तहमा पुग्ने कर्मचारी छिटो खटाईए काम गर्न सहज हुने बताउँनुहुन्छ ।
नेपाली कांग्रेस पाल्पाका जिल्ला सभापति विरबहादुर रानाले आफुहरुले जनप्रतिनिधीलाई कर्मचारीको उचित व्यवस्थापन गर्न र कामको जिम्मेवारी तोकेर काममा लगाउन आग्रह गरेको बताउनु भयो । खटीएकाहरुको व्यवस्थापन गर्न आग्रह गरेका छौं । अब झोलामा अफिल लिएर हिड्ने दिए गए, सभापति रानाले भन्नुभयो । एमाले जिल्ला अध्यक्ष नारायणप्रसाद आचार्यले स्थानीय सरकारको तल्लो तहमा विकास सहजीकरण, सेवा प्रवाह, आर्थिक विकासको आधार तयार गर्नका लागि जनप्रतिनिधीलाई अनुरोध गरेको बताउनुभयो ।

जिल्लाका कार्यालयहरुले सम्पत्तिको लगत तयार गर्ने र कर्मचारी व्यवस्थापनका लागि रोजाईको स्थान छनौट गरि फारम संकलन कार्य भैरहेको जनाएका छन् । जिल्लाका अधिकांश कार्यालयले एक हप्ताभित्र कर्मचारीलाई तहमा खटाउने तयारी गरिएको बताएका छन् ।

जिल्लामा अर्थ मन्त्रालय मार्फत् भएको प्रथम चौमासिक सशर्त अनुदानको रकम स्थानीय तह अनुसार निम्नानुसार रहेको छ ।
१. तानसेन नगरपालिका १९ करोड २९ लाख ४४ हजार
२. रामपुर नगरपालिका १६ करोड ३२ लाख १५ हजार
३. निस्दी गाउँपालिका १४ करोड ८८ लाख ९७ हजार
४. पूर्वखोला गाउँपालिका १० करोड ३ लाख २४ हजार
५. रम्भा गाउँपालिका १० करोड १३ लाख २९ हजार
६. वगनाशकाली गाउँपालिका १५ करोड २१ लाख ९ हजार
७. माथागढी गाउँपालिका ११ करोड १३ लाख ३३ हजार
८. तिनाउ गाउँपालिका ११ करोड ८ लाख ३५ हजार
९. रिब्दीकोट गाउँपालिका १४ करोड ६६ लाख २५ हजार
१०. रैनादेवी छहरा गाउँपालिका १४ करोड ८४ लाख १२ हजार