तीजको अवसरमा युनियनद्वारा बृद्धबृद्धालाई सम्मान

1.3K

तीजको अवसरमा युनियनद्वारा बृद्धबृद्धालाई सम्मान

बुटवल, साउन । नेपाल प्रेस युनियन रुपन्देहीले हरितालिका तीजको अवसर पारेर बुटवल वडा नं. २ मा पाखापानी स्थित सिद्धवावा दुर्गा भवानी शिवकुमारी सैंजु बृद्धाश्रममा रहेका बृद्धबृद्धालाई सम्मान गरेको छ ।

सोमबार एक कार्यक्रममा बिच युनियनले सामाजिक उत्तरदायित्व बहन गर्दै उनीहरुलाई सम्मान गर्नुका साथै तीजको अवसरमा दर खुवाएको हो ।

युनियनले प्रत्येक वर्ष तीजको अवसरमा समाजमा योगदान पु¥याएका जेष्ठ महिलालाई सम्मान गर्दै आएको थियो । सोही अनुसार गरिएको उक्त कार्यक्रममा आश्रममा रहेका जेष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

उक्त कार्यक्रममा बोल्दै युनियनका सल्लाहकार तथा नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं. ४ का सभापति हरि लम्सालले यस्ता कार्यक्रमले अरुलाई समेत सामाजिक सहयोगमा उत्प्रेरणा थप्ने विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै नेपाल जेसिजका पूर्व अध्यक्ष एवं आश्रममा संरक्षक अनुपमान सैजुले देख्दा सानो सहयोग भएपनि सहयोग कहिल्यै सानो नहुने र त्यसको प्रभाव ठूलो हुने विश्वास व्यक्त गर्नुभयो ।

युनियन रुपन्देहीका सभापति बिक्रम खड्काको सभापतित्वमा भएको कार्यक्रममा सल्लाहकारहरु खिमानन्द भट्टराई, रामराज पोखरेल, सचिव कबिन्द्र नेपाल लगायतले बोलेका थिए ।

युनियनकी उपसभापति रेखा भुसालको संयोजनमा भएको उक्त कार्यक्रममा युनियनका कार्यसमिति सदस्य दिनेश खड्काले आफ्नो जन्मदिनको अवसरमा खुवाईएको दर सौजन्य गर्नुभएको थियो ।