बुटवल, ३१ साउन । संठठित अपराध र फिरौती संकलनमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
रुपन्देहीको देवदहका व्यबसायी दुर्गाप्रसाद तिवारीको हत्यामा संलग्न मनोज पुन भन्ने मनोज बुढा मगरसंग संगठित भई अपराधिक कृयाकलाप र फिरौती उठाएको आरोपमा ईलाका प्रहरी कार्यालय बुटवलको टोलीले तानसेन नगरपालिका वडा नं. ७ का २२ वर्षीय सुशान्त लाकौललाई पक्राउ गरेको हो ।
विगत तीन वर्षदेखि मनोज पुनसंग निरन्तर सम्पर्कमा रही उसकै निर्देशनमा फिरौती असुल गर्ने अपराधमा संलग्न भई फिरौती उठाएको रकम आईएमई मार्फत मनोज पुनलाई पठाएको खुल्न आएकाले सुशान्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरिक्षक श्याम ज्ञवालीले जानकारी दिनुभयो ।
प्रहरीले मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरी पक्राउ परेका सुशान्त माथि थप अनुसन्धान भईरहेको जानकारी गराएको हो । सुशान्तले रुपन्देहीका व्यापारीलाई ज्यान मार्ने धम्की दिई ५ लाख रुपैंया फिरौती असुल गरेको र आईएमई मार्फत फरार रहेका मनोज पुनलाई पठाएको प्रहरीको आरोप छ ।
यो घटनामा थप अरु कसकसको संलग्नता छ भन्ने विषयमा बैज्ञानिक पद्धतीबाट अनुसन्धान भईरहेको बताउँदै प्रहरी उपरिक्षक ज्ञवालीले अहिलेसम्मको अध्ययनबाट समाजमा जुन किसिमको त्रास पैदा भएको छ, मनोज पुन त्यो लेवलको अपराध मच्चाउन सक्ने व्यक्ति नभएको बताउनु भयो । ‘उ नेपालमा छैन ।’ उहाँले भन्नुभयो–‘रेडकर्नर नोटिस नभएकाले ईन्टरपोल गरेर पनि समाउन मिल्दैन, अनुसन्धानमा अंगाडी बढेका छौं, सबै कुरा भन्न पनि मिल्दैन ।’
उहाँले व्यापारी व्यबसायी जसलाई पनि धम्कि दिएर कसैले फिरौती माग्ने र तर्साउने गर्छ भने प्रहरीलाई सूचना दिन आग्रह गर्नुभयो ।
महानगरिय अपराध महाशाखाबाट एक हप्ता अंगाडी मात्रै रुपन्देही आउनु भएका प्रहरी उपरिक्षक ज्ञवालीले उक्त अपराधको बारेमा जानकारी गराउनुको साथै यस क्षेत्रका पत्रकारसंग परिचयात्मक कार्यक्रम गर्नुभएको थियो ।