गैरपत्रकार खारेज अभियान शुरु गर्ने

1.3K

गैरपत्रकार खारेज अभियान शुरु गर्ने

भक्तपुर, ८ भदौ । नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित अध्यक्ष गोविन्द आचार्यले गैरपत्रकार खारेज गर्ने अभियान सञ्चालन गर्ने बताउनुभएको छ । रफत सञ्चार क्बलले महासंघका पदाधिकारीको सम्मानमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले अबदेखि महासङ्घको सदस्यता वितरण एवं नवीकरणमा सार्वजनिक सुनुवाइमार्फत पत्रकार भएको पुष्टि गरेर मात्र सदस्यता वितरण गर्नेमा जोड दिनुभयो ।

अध्यक्ष आचार्यले भन्नुभयो, “पत्रकारिता पेशालाई नै शुद्धीकरण गर्न अबदेखि सार्वजनिकरुपमा सुनुवाइ गरेर मात्र महासंघको सदस्यता प्रदान गर्नेछौँ, यस अभियानबाटै अब गैरपत्रकार पाखा लाग्नेछन् ।” उहाँले अझै पनि पत्रकारको पेशागत र भौतिक सुरक्षा नभएको भन्दै पत्रकारको पेशागत सुरक्षालाई महासंघले पहिलो मुद्दा बनाउने बताउनुभयो ।

महासंघका उपाध्यक्ष दिलीप थापामगरले महासंघलाई कुनै पार्टी र व्यक्तिको घर होइन पवित्र मन्दिर बनाउने बताउँदै पत्रकारको हकहित र सुरक्षाका लागि निरन्तर संघर्ष गर्ने र प्रेस स्वतन्त्रता पहिलो मुद्दा बनाउने दाबी गर्नुभयो । महासंघका महासचिव रमेश विष्टले महासंघले पत्रकार र सञ्चारमाध्यम दुवै पक्षलाई सक्षम बनाएर अगाडि बढाउने बताउनुभयो । उहाँले साना लगानीका सञ्चारमाध्यमलाई सक्षम बनाएर अगाडि बढ्न सहयोग गर्ने उल्लेख गर्नुभयो । रासस