पाल्पा, ११ भदौं । प्राध्यापक डा. वेणीमाधव ढकालले लेख्नुभएको साहित्यिक कृति ‘अमरसिंह थापाचरितम्’ खण्डकाव्य बिमोचन गरिएको छ । पाल्पा साहित्य समाजले प्रकाशन गरेको उक्त कृति शनिबार पाल्पाको तानसेनमा आयोजित एक कार्यक्रमका बिच डा. रामप्रसाद शर्मा ज्ञवालीले विमोचन गर्नुभएको हो ।
‘अमरसिंह थापाचरितम’ कृतिको बिमोचन गर्दै डा. ज्ञवालीले शहिद अमरसिंह थापाले राष्ट्रियताप्रति देखाएको बहादुरीलाई सबैले बढ्ने र बुझ्ने अवसर प्राप्त गरेको बताउनु भयो । उहाँले कृतिकार प्रति लक्षित गर्दै एउटै व्यक्तिमा बौद्धिकता र सिर्जनात्मकता दुबै गुण पाउन मुस्किल भएपनि कृतिकार ढकालमा दुबैगुण भएको उल्लेख गर्नुभयो । पाल्पाको ठिमुरेमा जन्मिनु भएका ढकाल राष्ट्रिय व्यक्तित्व भएपनि राजनीतिज्ञमा लोभ र पाप बढेकाले साहित्यिक व्यक्तिहरुकालागि वातावरण राम्रो नभएको टिप्पणी गर्नुभयो ।

कृतिकार प्रा. डा. ढकालले केही समय पहिले नै रचना भएको उक्त कृति शहिदको सम्मानकालागि ल्याएको बताउँदै ईतिहाँस भन्दा पनि साहित्यिक कृति भएको बताउनु भयो । कृतिमाथि समिक्षा गर्दै अध्यता निर्मल श्रेष्ठले कृतिले ईतिहासमा मतभेद सिर्जना गरेको बताउनु भयो । अर्का समिक्षक कृष्णप्रसाद कोईरालाले समग्रामा कृति राम्रो र सकारात्मक भएको टिप्पणी गर्नुभयो ।
पाल्पा साहित्य समाजले आयोजना गरेको सोही कार्यक्रममा प्राध्यापक डा. नारायणप्रसाद खनालले लेख्नुभएको ‘प्राज्ञधोतित संस्कृतमनीषी प्रा. डा. वेणीमाधव ढकाल’ कृतिको समेत समिक्षा गरिएको थियो । उक्त कृतिको समिक्षा गर्दै समिक्षक टंक पन्तले नेपाली साहित्य आकासका उज्वल नक्षेत्र प्रा. डा. वणीमाधव ढकालको बारेमा लेखिएको उक्त कृतिले उहाँको मात्रै नभएर समग्र पाल्पाको बस्तुस्थिती उजागर गरेको टिप्पणी गर्नुभयो ।
प्रा. डा. ढकालका प्रकाशोन्मुख कृतिहरु अझै पनि बाँकी रहेको र ती कृतिहरु समेत प्रकाशित भए साहित्य आकाशमा उहाँ अझै बढी चम्किने समिक्षक पन्तको विश्लेषण छ । त्यस्तै अर्का समिक्षक गंगानाथ कोईरालाले प्राध्यापक डा. ढकाल पाल्पाको मात्रै नभएर मुलुककै गौरव भएकाले उहाँका बारेमा जति चर्चा गरेपनि अपुग हुने बताउनु भयो ।
प्रा. डा. खनालले प्रा. डा. ढकालको समग्र जीवनीमा केन्द्रित भएर ‘प्राज्ञधोतित संस्कृतमनीषी प्रा. डा. वेणीमाधव ढकाल’ कृति लेख्नुभएको थियो । उक्त कृति हालै काठमाण्डौमा विमोचन गरिसकिएको थियो ।
नेपाल संस्कृत विश्व विद्यालय सेवा आयोगका अध्यक्ष समेत रहनु भएका प्रध्यापक डा. वेणीमाधव ढकालका ‘शैलेश’ खण्डकाव्य २०३१, ‘जय ज्योतिस्मती मुमा’ नव्यकाव्य २०३३, ‘अर्जुन’ शोककाव्य २०५६, ‘दिव्यलक्ष्मी स्मृतिकाव्य’ शोककाव्य २०६५, ‘रश्मिप्रभास’ महाकाव्य २०६८, ‘पृथूदयमहाकाव्यम्’ (तृतीय सर्ग मात्र) २०५५, ‘त्रिशूलप्रहारः’ रुपकम् २०७४, ‘त्रिशक्ति माता का जीवन चरित्र’ –हिन्दी २०४९, ‘स्वर्गद्वारी के महाप्रभु’ (हिन्दी) २०

७१, ‘लीलाशान्ति सन्देश’ हिन्दी २०७०, लगायत ५० बढी कृतिहरु प्रकाशित छन् । प्राध्यापक डा. ढकाल ३० भन्दा बढी सरकारी तथा बिभिन्न संघसंस्थाद्वारा सम्मानित तथा पुरस्कृत हुनु भएको छ ।
पाल्पा साहित्य समाजका अध्यक्ष राजेन्द्र गोपाल सिंहको अध्यक्षतामा भएको कार्यक्रममा प्राध्यापक डा. नारायणप्रसाद खनाल, पूर्व सांसद यादवबहादुर रायमाझी, शिक्षाप्रेमी हिराधर आचार्य, नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेशकुमार अर्याल, पाल्पा साहित्य समाजका सचिव पुस्करराज रेग्मी, कोषाध्यक्ष महेन्द्र पन्थी लगायतले प्राध्यापक डा. ढकाल र उहाँको कृतिका बारेमा चर्चा गर्नुभएको थियो ।
सोही अवसरमा पाल्पा साहित्य समाजले पाल्पाली साहित्यकार ढकाल र पाल्पाका बारेमा कृति लेखेकोमा प्राध्यापक डा. नारायण खनाललाई सम्मान गरेको छ । उहाँलाई समाजका अध्यक्ष राजेन्द्रगोपाल सिंह, डा. रामप्रसाद शर्मा ज्ञवाली, साहित्यकार प्रा.डा. वेणीमाधव ढकालले सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।