बुटवलको बजेट तथा नीति कार्यक्रम सार्वजनिक

708

बुटवलको बजेट तथा नीति कार्यक्रम सार्वजनिक

बुटवल, १६ भदौ । बुटवल उपमहानगरपालिकाको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम सहित विनियोजित बजेट सार्वजनिक गरिएको छ । नगरपालिकाको प्रथम नगरसभाबाट पारित निर्णयहरु सार्वजनिक गर्नकालागि शुक्रबार आयोजना गरिएको कार्यक्रममा नगर प्रमुख शिवराज सुवेदीले ‘मावनताको शहर, बुटवल उपमहानगर’ भन्ने नारा सहित एक अरव ६३ करोड ३५ लाख ७८ हजार ८ सय ५ रुपैंयाँ बजेट स्वीकृत गरि विनियोजन गरिएको बताउनु भयो ।

जसमा चालु तर्फ २९ करोड ६१ लाख ५६ हजार र पुँजीगत तर्फ १ अरव १६ करोड ६४ हजार ८ सय ५ रुपैंया तथा विषयगत कार्यालय तर्फ १७ करोड ७३ लाख ५८ हजार बजेट विनियोजन गरिएको छ ।

मानवताको शहर बुटवल उपमहानगर बनाउने लक्ष्यका साथ छुवाछुत मुक्त, पूर्ण साक्षरयुक्त, पूर्ण सरसफाई युक्त, पूर्ण खोपयुक्त, लैगिक तथा बाल मैत्री, वातावरण तथा अपांग मैत्री, समतामुलक शहर बनाउने अभियानलाई पर्वद्धन गर्न संवैधानिक व्यबस्था बमोजिम स्थानीय तहको क्षेत्राधिकारको कार्यान्वयन, दीर्घकालिन बिकासका रणनीतिहरु, प्रादेशिक राजधानी र महानगरीय अवधारणा कार्यान्वयनलाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम र बजेट विनियोजन गरिएको नगर प्रमुख सुवेदीले बताउनु भयो ।

त्यस्तै नीति तथा कार्यक्रम र बजेटले राजनीतिक दलहरुले निर्वाचनका क्रममा व्यक्त गरेका प्रतिवद्धतामा आधारित, स्थानीय श्रम र स्रोतको अधिकतम प्रयोग गर्दै अधुरा र क्रमागत योजनालाई निरन्तरता, सहभागितात्मक योजना तर्जुमा प्रक्रियामा आधारित, आर्थिक सामाजिक र मानवीय बिकास प्रति लक्षित, सार्वजनिक नीजि साझेदारी प्रवद्र्धनमा जोड, संस्थागत बिकास र सुशासनलाई प्राथमिकता दिईएको उहाँले बताउनु भयो ।

नीति तथा कार्यक्रमले विकास व्यबस्थापनका दृष्टिले पछाडी परेका वडाहरुमा सन्तुलित बिकास गर्ने नीति अवलम्बन गरेको छ । सोही अवधारणा अनुरुप जनसंख्या, क्षेत्रफल बिकासको अवस्था, आन्तरिक आयमा योगदान जस्ता सुचकका आधारमा वडा स्तरीय स्रोत साधनको बाँडफाँड गर्ने नीति अवलम्बन गरिएको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

नगरपालिकाले उठाउने आन्तरिक राजस्वका स्रोतमा दररेट नबढाई दायरा बढाउने नीति लिईएको छ । नगरपालिकाको स्वमित्व, भोगाधिकार र संरक्षणमा रहेका तथा संरक्षणमा लिनुपर्ने भवन जग्गा जमिन, हाट बजार तथा अन्य भौतिक सम्पत्तिको अधिलेख अध्यावधिक गरि राजश्व आम्दानी गर्ने माध्यमको परिचाहन गरिने, तीन खम्बे अर्थनीति बमोजिम स्थानीय तहमा गठन भएका सहकारी संस्थाको क्षमता बिकास गर्नुका साथै बिकासमा सहकारी संग साझेदारी गरिने, उपभोक्ता अधिकार गुणस्तर सम्बन्धि जनचेतना अभिबृद्धि गराउने, कालोबजारी नियन्त्रण, नियमित बजार अनुगमन र आवश्यक मापदण्ड बनाई त्यस्तो कार्यलाई दण्डित गर्ने नीति नगरपालिकाले लिएको छ ।

बुटवल उपमहानगरपालिकालाई पर्यटकीय हवका रुपमा बिकास गर्न ऐतिहासिक पुरातात्विक स्थलको संरक्षण, सम्वद्र्धन र प्रचार प्रसार गर्ने, नुवाकोट र बसन्तुपरमा नीजि क्षेत्रका लगानीकर्ता मार्फत केवलकार सहितको हिल स्टेशनका रुपमा बिकास गर्ने, रामापिथेकस पार्क, हिलपार्क, मणिमुकुन्दसेन पार्क, ग्लोवल पिस पार्क, मिलन पार्क लगायतका क्षेत्रमा थप पुर्वाधार बिकास गर्ने, नरैनापुर, हिलपार्क, नुवाकोट र बसन्तपुरमा आधुनिक रिभल्विङ् भ्युटावर निर्माण गरि आन्तरिक तथा बाह्य पर्यटन पर्वद्धन गर्ने प्रस्तुत नीति तथा कार्यक्रममा छ ।

जैविक तथा अजैविक फोहोरलाई उत्पादन तहदेखि नै वर्गीकरण गरी छुट्टाछुट्टै संकलन गर्ने व्यबस्था मिलाईने, बुटवललाई ग्रिन एण्ड क्लिन शहरका रुपमा बिकास गर्ने लगायतका ३५ बुँदे नीति तथा कार्यक्रम सार्वजनिक गरिएको हो । नगरप्रमुख सुवेदीले प्रस्तुत बजेट नीति तथा कार्यक्रमले असिमित जनचाहना र अपेक्षालाई उपलब्ध साधन स्रोतको सिमाले सम्बोधन गर्न नसकिएपनि ‘सवल आर्थिक केन्द्र, समुन्नत बुटवल’लाई साकार पार्ने काममा एउटा इटा थपिने बताउनु भयो ।