झविन्द्र देवकोटा/ बुटवल, २९ भदौ ।
एचआईभी एड्स संक्रमणको दर पहिलेभन्दा कम देखिएतापनि संक्रमितहरुलाई उपचारको पहुँचमा ल्याउने विषय अझैपनि चुनौतिकै रुपमा देखिएको पाइएको छ । संक्रमित भएकाहरु परीक्षणमा आउने तथा परीक्षणपछि उपचारको पहुँचमा पुगेमा संक्रमणलाई नियन्त्रण गर्न सहज हुने भएतापनि संक्रमित भएकाहरुनै उपचारको पहुँचमा नआउदा समस्या जटिल बन्दै गएको पाइएको हो ।
बुटवलमा बिहीबार भएको कार्यक्रममा एड्स हेल्थ केयर फाउण्डेशन एएचएफले उपचार सुरु गरेर ए.आर.भी नियमित खाएकाबाट अन्यब्यक्तिमा सर्ने दर न्यून हने हुँदापनि फेला परेका संक्रमितहरु उपचारमा नआएर लुक्ने गरेका कारण समस्या जटिल बन्दै गएको बताएको हो ।
फाउण्डेशनका अनुसार सन् २००४ मा अत्याधिक देखिएको संक्रमणको दर अहिले ह्वात्तै घटेको छ । तर उपचारमा आउनेको अवस्थामा सुधार आउन नसकेको फाउण्डेशनका बुटवल प्रमुख धर्मराज भट्टराईले जानकारी दिनुभयो । उहाँले एचआईभीको संक्रमण मात्र यौन क्रियाकलापका कारणले मात्र हुन्छ भन्ने भ्रममा नपर्न सुझाव समेत दिनु भयो । उहाँले दारी कपाल गर्दा, ब्यूटिपार्लरमा बाल उखेल्दा, घाईते रगत्याम्म भएको अवस्थामा उ संक्रमित भएको भए सो अवस्थामा पनि एचआईभीको संक्रमण हुन सक्ने बताउनुभयो ।
उहाँले संक्रमणबाट जोगिनकालागि हरेक प्रहर सचेत हुनु पर्ने र संक्रमित भएको भए नियमित औषधी सेवन गर्नु पर्ने सुझाव दिनुभयो । उहाँले बुटवल ए।एच।एफ।मा सन् २००८ देखि २०१७ को जुनसम्म एक हजार ६ सय ३० जना संक्रमित पत्ता लागेको बताउदै ति मध्य १ सय ९४ को मृत्यू भएको जानकारी दिनुभयो ।
उहाँका अनुसार तिनमा एक हजार ७ जनाले नियमित औषधी खाई रहेको, ३ सय ४२ ट्रान्सफर भएको ८७ जना यसै हराएका छन् । हराएकाहरुले नै जोखिम बढाउने गरेकाले उपचारमा आउनु नै आवश्यक रहेको बताउनुभयो । तथ्याङक अनुसार एचआईभी संक्रमित भएका कुल संख्यामा ४५ प्रतिशतमात्र खुलेको र ५५ प्रतिशत अझै लुकेको पाइएको छ । ईपिडिमियोलोजीले दिएको तथ्याङक अनुसार मुलुकभर एचआईभी परीक्षण गराएका २ लाख ११ हजार ८ सय ४२ मध्य २२ हजार २ सय २४ मा पोजेटिभ फेला परेको तथ्याङक छ ।