यो वर्षको मनसुन नेपालबाट बाहिरियो

1.3K

यो वर्षको मनसुन नेपालबाट बाहिरियो

बुटवल, १ कात्तिक । दुई दिन ढिलागरी पूर्वबाट प्रवेश गरेको मनसुन २३ दिन ढिलागरी मुलुकबाट बाहिरिएको छ । सरदरमा मनसुन नेपालबाट २३ सेप्टेम्बरमा बाहिरिने गर्दछ ।

तर यो वर्ष औषत मिति भन्दा २३ दिन ढिला गरी १६ अक्टोबरमा मुलुकको समग्र भुभागबाट बाहिरिएको जल तथा मौषम विभाग महाशाखाले जनाएको छ । ११ अक्टोबरमा सुदुरपश्चिमबाट बाहिरिएको मनसुन १६ अक्टोबरसम्म मुलुकको समग्र भुभागबाट बाहिरिएको हो ।

सामान्यतया नेपालमा १० जुनमा प्रवेश गर्ने मनसुन दुई दिन ढिलागरी १२ जुनमा प्रवेश गरेको थियो । नेपालमा ढिलागरी प्रवेश गरेको मनसुन बाहिरिँदा पनि ढिला गरि बाहिरिएको छ । यद्यपी यो वर्ष नेपालमा सामान्य भन्दा केही दिन अंगाडी नै मनसुन शुरु हुने अनुमान गरिएको थियो ।

नेपालमा सामान्यतया जुनदेखि सेप्टेम्बर (जेठको अन्तिम सातादेखि असोजको अन्तिम हप्ता)सम्म चार महिनाको अवधिलाई दक्षिण एसियाली मनसुनको अवधि मानिन्छ । यो समयमा नेपालमा वार्षिक वर्षाको करिव ८० प्रतिशत वर्षा हुने गर्दछ ।

तर यो वर्ष नेपालका मध्ये तथा सुदुर पश्चिममा अधिकांश भू–भागमा सरदर भन्दा कम वर्षा हुने अनुमान गरिएको थियो । महाशाखाले अझै पूण रिपोर्ट तयार नभईसकेको जनाएको छ । सरदर वर्षा भन्नाले स्थान विशेषको करिव ३० वर्षको औषत वर्षालाई बुभिन्छ । सरदर वर्षाको ९० प्रतिशतदेखि ११० प्रतिशतसम्म वर्षालाई सामान्य वर्षा मानिन्छ भने सो भन्दा कम र बढि वर्षा भएमा न्युन वा अधिक वर्षा भएको भनिन्छ ।