पुनर्निर्माण प्राधिकरणको सिइओमा भुसाल नियुक्त,को हुन भुसाल?

1.3K

पुनर्निर्माण प्राधिकरणको सिइओमा भुसाल नियुक्त,को हुन भुसाल?

    काठमाडाैं ।राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा प्रमुख कार्यकारी अधिकृत (सिइओ) युवराज भुसाल नियुक्त भएका छन्।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भुसाललाई प्राधिकरणको सिइओमा नियुक्त गरेको हो।

सरकारका प्रवक्ता एवं सुचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतका अनुसार निवर्तमान सिइओ गोविन्द पोखरेलले आइतबार पदबाट राजीनामा दिएपछि सोमबार बसेको मन्त्रिपरिषद बैठकले उनको राजिनामा स्वीकृत गर्दै उनलाई प्राधिकरणको जिम्मेवारी दिएको हो।

सुशील ज्ञवाली र गोविन्द पोखरेल पछि भुसाल प्राधिकरणका  तेस्रो सिइओ हुन्।

कांग्रेस प्युठानबाट प्रतिनिधिसभाको निर्वाचनका लागि नाम सिफारिस भएपछि  सिइओ पोखरेलले आइतबार राजीनामा दिएका थिए।

को हुन भुसाल   

२६ जेठ ०३७ मा शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेका थिए ।गुल्मी बाँझकटेरी जन्म घर भएका भुसाल हाल काठमाडौं कुलेश्वर आवास क्षेत्रमा बस्दै आएका छन् ।

उनको सुरुको नियुक्ति गृह मन्त्रालयअन्तर्गत विशेष प्रहरी विभागमा थियो । त्यसपछि ९ मंसिर ०४३ मा सहायक सचिव बनेका उनी २६ पुस ०५१ मा उपसचिव बने । २५ कात्तिक ०५४ मा सहसचिवमा बढुवा भए । १९ साउन ०६६ मा सचिव बढुवा भए । र, सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा परे ।

पर्यटन, सामान्य प्रशासन, स्थानीय विकास मन्त्रालय, प्रधानमन्त्री कार्यालय, महिला बालबालिका, वन मन्त्रालय, राष्ट्रिय योजना आयोग हुँदै २७ चैत ०७० मा उनी अर्थसचिव बने । विशिष्ट श्रेणीमा पाँच वर्ष बिताएर ९ साउन ०७१ मा अर्थ मन्त्रालयबाटै सेवानिवृत्त भए ।

निजामती किताब खानाको रेकर्डअनुसार उनले निजामती सेवामा ३४ वर्ष एक महिना १७ दिन बिताए । मानविकी सेवामा प्रथम श्रेणीमा स्नातकोत्तर उत्तीर्ण गरेका भुसाल अर्थ प्रशासनमा बढी दख्खल राख्छन् ।

सेवानिवृत्त भएपछि उनले स्टाफ कलेज जावलाखेलमा अध्ययन निर्देशक बनेर काम गरे । केही महिनाअघि मात्र उनले पदबाट राजीनामा दिएका थिए ।भुसाल कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलका सम्धी हुन् ।

प्राधिकरणका तत्कालीन सीईओ सुशील ज्ञवालीलाई सरकारले हटाएपछि पनि भुसाल राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सीईओ बन्ने दौडमा थिए । तर, कांग्रेस-माओवादी गठवन्धनको सरकारले डा. गोविन्द पोखरेललाई नियुक्ति दिएको थियो ।