बुटवल, १४ कात्तिक । राष्ट्रिय जनमुक्ति पार्टीले मंगलबार बुटवलमा प्रदेशस्तरीय चुनावी घोषणा सभा गरेको छ । सभाको आयोजना गरी जनमुक्ति पार्टीले पांच नम्बर प्रदेश अन्तर्गत जिल्लाबाट प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने उमेदवारहरुको नाम घोषणा गरेको छ ।
चुनावी घोषणा सभामा प्रतिनिधिसभा अन्तर्गत रुपन्देही क्षेत्र नम्बर १ बाट झमबहादुर गुरुङ्, २ बाट केवी पुन, ३ बाट सूर्यकुमार सारु, ४ बाट सुदर्शन यादव र क्षेत्र नम्बर ५ बाट दुर्गाबहादुर थापाको नाम सार्वजनिक गरिएको छ ।
त्यस्तै रुपन्देहीबाट प्रदेशसभा र अन्य जिल्लाहरुबाट पनि प्रतिनिधिसभा र प्रदेशसभाका लागि उमेदवारहरुको नाम सार्वजनिक गरिएको छ ।
सो सभामा बोल्दै जनमुक्ति पार्टीका महासचिव केशव सूर्यवंसीले वाम गठबन्धनको नाममा जनतालाई झुक्काउन लागिएको दावी गर्नुभयो । जनतालाई फेरिपनि झुक्काएर सत्तामा जानका लागि वाम गठबन्धन गरिएको आरोप उहांले लगाउनुभयो । उहांले अहिलेको चुनावमा पनि जनता सचेत नभए देशमा आर्थिक सम्बृद्वि हुन नसक्ने उहांको दावी छ ।
राष्ट्रिय जनमुक्ति पार्टी विदेश विभाग प्रमुख कमला थापाले सत्तमा सामेल दलका नेताहरु भ्रष्ट भएकाले देशमा भ्रष्टाचार मौलाउंदै गएको आरोप लगाउनुभयो । उहांले राष्ट्रिय जनमुक्ति पार्टीको नीति सिद्वान्तले मात्र देशलाई निकास दिन सक्ने उल्लेख गर्नुभयो ।
होमाया गुरुङ्को अध्यक्षता र गिता सारु मगरको सञ्चालनमा भएको कार्यक्रममा पार्टीका रुपन्देही अध्यक्ष झमबहादुर गुरुङले स्वागत गर्नुभएको थियो ।