निर्वाचन विथोल्ने अपराध नगरौं : पहाडी

1.3K

निर्वाचन विथोल्ने अपराध नगरौं : पहाडी

बुटवल, १८ कात्तिक ।मानव अधिकार तथा शान्ति समाजद्वारा सञ्चालित नागरिक सेतु अभियानका क्रममा आईतबार वुटवलमा अन्तरक्रिया सम्पन्न भएको छ । आसन्न निर्वाचनका सन्दर्भमा शान्ति समाजद्वारा राष्ट्रिय स्वाभिमान, मानव अधिकार, शान्ति, लोकतन्त्र, अहिंसा र वातावरण संरक्षणलाई केन्द्रविन्दुमा राख्न राजनीतिक दलहरुलाई आग्रहसहित दबाब दिने उद्देश्यले शान्ति समाजले २० बुँदे अवधारणा अघि सारेको छ । यसै विषयमा केन्द्रित रहेर समाजले नागरिक स्तरमा कार्यक्रम आयोजना गरिरहेको छ ।

रुपन्देही शाखा सभापति हरिस ढकालको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख वक्ताको रुपमा बोल्दै शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले निर्वाचन विथोल्ने अपराध कसैले गर्न नहुने बताउनु भयो । राजनीतिक दलहरुले निर्वाचन आचारसंहितालाई इमान्दारिताका साथ पालना गर्नुपर्नेमा जोड दिँदै नागरिक अगुवा पहाडीले आचारसंहिता उल्लंघनकर्तालाई कारबाही गर्न निर्वाचन आयोगलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा समाजका सभापति डा. गंगाधर अधिकारी, संस्थापक सदस्य कृष्ण कंडेल, उपसभापति गोविन्द खनाल, नेकपा एमालेका केन्द्रीय सदस्य खिमलाल भट्टराई, नेपाली काँग्रेस वुटवल नगरसमिति सभापति खेलराज पाण्डे, माओवादी केन्द्रका रुपन्देही सह संयोजक पुरण गुरुङ, नेपाल कम्युनिष्ट पार्टीका जिल्ला इन्चार्ज सरद ओली, राष्ट्रिय जनमोर्चाका प्रतिनिधि दान बहादुर खत्री, राष्ट्रिय मानव अधिकार आयोग पश्चिमाञ्चल प्रतिनिधि वुद्धनारायण साहनी, वुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमाल, व्यापार संघका अध्यक्ष मोतिलाल पाण्डे, उद्योग संघ रुपन्देहीका माधव पौडेल, रोडा ढुंङ्गा व्यवसायी संघका अध्यक्ष गोपाल ज्ञवाली, अधिकारकर्मीहरु कृष्ण पराजुली, सावित्रा अर्याल, धनपति खनाल लगायतका वक्ताहरुले मन्तव्य व्यक्त गर्नुभएको थियो ।