
बुटवल, २२ कात्तिक । लुम्बिनी अञ्चल अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने अभियान सञ्चालन गरेका अभियान्ता मुक्तिराज पौडेलले त्यसकालागि दवाव सिर्जना गर्न संकलन गरेको हस्ताक्षर स्वास्थ्य सचिव डा. किरण रेग्मीलाई हस्तान्त्रण गर्नुभएको छ ।
जिल्लाको स्वास्थ्य स्थिती अवलोकन गर्ने क्रममा जिल्ला आउनु भएकी स्वास्थ्य सचिव डा. रेग्मीलाई अभियान्ता पौडेलले पहल कदमी गर्नकालागि आग्रह गर्दै लुम्बिनी अञ्चल अस्पतालमा आयोजित कार्यक्रममा उक्त हस्ताक्षर बुझाउनु भएको हो ।
हस्ताक्षर बुझ्दै स्वास्थ्य सचिव डा. रेग्मीले सपना नदेखि बिकास नहुने बताउँदै सपना देख्नु नै बिकासको कडी भएको बताउनु भयो । उहाँले उक्त अभियानमा आफूले सकेको सहयोग गर्ने पनि प्रतिवद्धता व्यक्त गर्नुभयो । सोही अवसरमा उहाँले प्रादेशिक संरचनाको बिकासको क्रममा लुम्बिनी अञ्चल अस्पताल बुटवलले प्रदेश स्तरको टर्सरी लेवलको अस्पताल बन्न सक्ने सम्भावना रहेको जानकारी गराउनु भयो ।
त्यस्तै चिकित्सा महाशाखाका निर्देशक डा भोलाराम श्रेष्ठले चिकित्सा क्षेत्रका बिद्यार्थीलाई अनुसन्धानका क्षेत्रमा पठाउन आवश्यक रहेको उल्लेख गर्दै हरेक सरकारी अस्पताललाई मेडिकल कलेज वा प्रतिष्ठानका रुपमा बिकास गर्न आवश्यक रहेको बताउनु भयो ।