बुटवल /नेपाली कांग्रेसका प्रभावशाली नेता एवम् केन्द्रिय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँडले राजनीतिमा द्धन्द भन्दा पनि सहमति र सहकार्य आवश्यक रहेको बताउनु भएको छ । उहाँले प्राप्त संविधानलाई सबैको संविधान बनाउन आवश्यक रहेको पनि बताउनु भयो ।
नेपाली कांग्रेस निर्वाचन प्रचार प्रसार समन्वय उपसमिति मिडिया सेन्टर प्रदेश नं. ५ को मंगलबार बुटवलमा उद्घाटन गर्दै यस्तो विचार व्यक्त गर्नुभएको हो ।
बामपन्थि गठबन्धनले नेपालमा कम्युनिष्ट व्यवस्था ल्याउन चाहे पनि त्यो सफल नहुने दाबि गर्दै नेता खाँडले भन्नुभयो प्रचण्डका नाती नातिनाले कुन सिद्धान्त लिएर अगाडि बढ्ने हुन् मैले बुझ्न सकेको छैन ।
हिंसाको अन्त्य गर्न माओवादी सँग एकता गरेको हो तर सुर्धान सकिएन,नेता खाँडले भन्नुभयो ।
व्यक्तिगत सम्पत्ति स्वीकार नगर्ने कम्युनिष्ट पार्टिले जनतालाई घर जग्गा दिदैँ हिड्छु भन्ने कुरा कत्तिको सत्य होला, प्रश्न गर्दै कांग्रेसको सरकार बने मात्र जनतालाई मालिक बनाउन सकिने उहाँको तर्क थियो ।
त्यस्तै स्वस्थ्य मन्त्रि एवम् रुपन्देही क्षेत्र नं. ३ का उम्मेमद्वार तथा राप्रपाका वरिष्ठ उपाध्यक्ष दिपक बोहराले बामपन्थि गठबन्धनले असली रुप देखाउन थालेकोले आफुहरु लोकतान्त्रिक गठबन्धनमा लागेको बताउँदै भन्नुभयो बामपन्थिहरु झुटको खेति गर्न सिपालू रहेछन् ।प्रजातन्त्र र लोकतन्त्रको लागि यो गठबन्धन सफल भएरै छाड्ने बताउँदै नेता बोहराले भन्नुभयो ५ नम्बर प्रदेशको राजधानी रुपन्देही मै बनाएर छाड्छौँ । एमालेका कार्यकर्ताले एयरपोर्टको निमार्ण बिथले, त्यसलाई पुरा गर्ने आफुहरु लागिपर्ने बताउँदै आफु पटक पटक सरकारमा पुग्दा सुकुम्बासीहरुलाइ रुपन्देहीका विभिन्न ठाँउमा राखेको र अब सरकारमा पुगे समस्या सामाधान भएरै छाड्ने समेत बताउनु भयो ।
नेपाली कांग्रेस रुपन्देहीका प्रचार संयोजक विशेश्वर प्रसाद बस्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस रुपन्देहीका पार्टि सभापति एवम् क्षेत्र नं. १ का उम्मेद्वार अब्दुल रज्जाकले बामपन्थिको नाममा कम्युनिष्ट गठबन्धनले लोकतान्त्रिक मुल्य मान्यता माथि प्रहार गर्ने भएकाले नेपाली जनतालाई झस्काएको बताउँदै लोकतन्त्रबादी शक्ति एकजुट भएर अगाडि बढ्न जरुरी छ । यसले मात्र प्राप्त उपलब्धि संस्थागत हुने छ । रुपन्देही क्षेत्र नं. ५ का उम्मेद्वार भरत शाहले प्रजातन्त्रको स्थापना पछि आर्थिक उदारिकरणले घर घरमै बैंक खुलेका छन्, बाटोघाटोमा पुल बनेका छन्, एउटा गाँउमा करोडौँको विकास बजेट आएको छ । काँग्रेस को सरकार बनेमा समग्र लुम्बिनी, कृषि, पर्यटन, उद्योग क्षेत्रको विकास हुने दावि गनुभयो ।
यसैगरि कार्यक्रममा रुपन्देही क्षेत्र नंं २ का उम्मेद्वार युवराज गिरी, काजीमान श्रेष्ठ, नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दिपक आचार्य, डेस्क संयोजक रामराज पोख्रेल लगायतले आफ्ना विचार राख्नु भएको थियो ।