
बुटवल, २८ कात्तिक । नेपाली काँग्रेसले बुटवलको उपमहानगरपालिका प्रदेश सभा निर्वाचन तर्फ क्षेत्र नं. २(१)मा पर्ने बुटवल उपमहानगरपालिका वडा नं. ९ मा संम्पर्क कार्यालय स्थापना गरेको छ । सम्पर्क कार्यालयको मंगलबार नेपाली काँग्रेस प्रतिनिधि सभा क्षेत्र नं. २ का उम्मेदवार युवराज गिरीले उदघाटन गर्नुभएको हो ।
उक्त कार्यक्रममा बोल्दै नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं. २ का क्षेत्रीय सभापति हरि लम्सालले अहिलेको चुनाव लोकतान्त्रिक व्यबस्था र साम्यवादी व्यबस्थाका बिचमा भएकाले मतदाताले विचार गर्नुपर्ने वेला भएको बताउनु भयो ।
सो अवसरमा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि समेत रहनुभएको उम्मेदवार गिरीले बुटवललाई प्रादेशिक राजधानी बनाउने प्रणका साथ आफू निर्वाचनमा होमिएको बताउनु भयो । उहाँले यसका अलावा यस क्षेत्रको बिकास निर्माणका खाका प्रस्तुत गरेको बताउँदै यस क्षेत्रको बिकासकालागि अगाडी सारिएको प्रतिवद्धता पत्र अध्ययन गर्न सबैलाई आह्वान गर्नुभयो ।
कार्यक्रममा प्रदेश सभा क्षेत्र नं. २(१)का उम्मेदवार काजिमान श्रेष्ठले दीगो बिकास र समृद्ध मुलुक निर्माणकालागि नेपाली काँग्रेसको विकल्प नभएको बताउनु भयो । उहाँले एमाले माओवादीले बाम एकतालाई हात्तिको देखाउने दाँतको रुपमा चित्रण गर्दै एमाले माओवादी कहिल्यै पनि एक हुन नसक्ने ठोकुवा गर्नुभयो । कम्युनिष्टहरु भ्रमको राजनीतिमा अगाडी रहेकाले पछिल्लो बाम एकता भ्रमको एउटा श्रृङ्खला भएको आरोप लगाउनु भयो ।
मतदान सभापति कृष्ण वेलवासेको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्र नं. २ निर्वाचन प्रचार प्रसार समितिका संयोजक रामबहादुर कार्की, क्षेत्र नं. २(१)का निर्वाचन प्रसार समितिका संयोजक यमबहादुर खत्री, वडा सभापति प्रदिप श्रेष्ठ, सचिव नविन सापकोटा लगायतले भनाई राख्नु भएको थियो ।
सोही अवसरमा उक्त वडाबाट बुटवल उद्योग बाणिज्य संघमा निर्वाचित अध्यक्ष खेमबहादुर हमाल, तथा सदस्यहरु करुण खनाल, धनकुमारी खनाल, निर्मित कसजुलाई सम्मान गरिएको थियो ।
नेपाली काँग्रेसले रुपन्देही क्षेत्र नं. २ का बिभिन्न स्थानमा प्रचारका कार्यक्रमलाई निरन्तरता दिएको छ । नेपाली काँग्रेसका प्रतिनिधि सभाका उम्मेदवार युवराज गिरी तथा प्रदेश सभाका उम्मेदवारहरु काजिमान श्रेष्ठ र महेशमान सिंहले छुट्टा छुट्टै भेटघाट तथा घरदैलो कार्यक्रम गर्दै आउनु भएको छ ।