
बुटवल, ४ मंसिर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पाल्पा क्षेत्र नं. २ बाट प्रतिनीधि सभा सदस्यका उम्मेदवार हरिप्रसाद नेपालले अहिलेको निर्वाचन लोकतान्त्रिक व्यबस्थालाई अंगाडी बढाउने या साम्यवादी व्यबस्था स्थापित गर्ने भन्ने जनमत संग्रह भएको बताउनु भएको छ । उहाँले राजनीतिक मुद्धा सकेर अव जारी लोकतान्त्रिक संविधानलाई कार्यान्वयन गर्ने क्रममा एमाले–माओवादीले बाम गठबन्धन गरेर कम्युनिष्ट शासन व्यबस्था ल्याउन खोजेको आरोप लगाउनु भयो ।
मुलुकमा जारी रहेको लोकतान्त्रिक आन्दोलनमा सहभागि भएर संविधान जारी गर्दासम्म संगै यात्रा गरेकाले एमाले माओवादी लोकतान्त्रिक मुल्यमान्यता आएकी भन्ने लागेको बताउँदै एमाले अध्यक्ष केपी ओली र माआवादी अध्यक्ष पुष्पकमल दाहाल अन्ततः म्याउ गरेर आफ्नो चरित्र प्रष्ट पारेको बताउनु भयो । ‘बोरामा बाँधेको बिरालो पनि म्याउ गरेरै छाड्छ ।’ नेपाली उखान स्मरण गर्दै उहाँले भन्नुभयो–‘देशमा शान्ति र स्थिरता होस भनेर गिरिजाप्रसाद कोईरालाले माओवादीलाई शान्तिको मार्गमा ल्याउनु भयो, प्रचण्डजीको मनमा धङ्धङी रहेछ, म्याउ गरिहाल्नु भयो ।’
एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहालको पछिल्लो अभिव्यक्ति यो चुनाव अन्तिम हुने र नेपालमा ६० वर्ष कम्युनिष्ट शासन चल्ने भनाईले पनि बाम गठबन्धन साम्यवादी मार्ग रहेको पुष्टि गरेको उहाँले दावी गर्नुभयो । उहाँले त्यसैकारणले पनि अहिलेको निर्वाचन जारी संविधानको संरक्षण गर्दै लोकतान्त्रिक व्यबस्थालाई अंगाडी बढाउने या साम्यवादी व्यबस्था ल्याउने भन्ने जनमत संग्रह जस्तै भएकाले आम नेपालीलालाई सोंच्न आग्रह गर्नुभयो । यदि नेपालमा साम्यवादी व्यबस्था आईहाल्यो भने मुलुक कहिल्यै पनि नसकिने द्वन्द्वको दलदलमा फस्ने र मुलुक अफगानिस्तान बन्ने बताउँदै त्यस्तो अवस्था आउन नदिनकालागि पनि नेपाली काँग्रेसलाई जिताउन उहाँले आह्वान गर्नुभयो ।

सोमबार बुटवलमा रुपन्देहीमा रहेका पाल्पाली मतदातहरुसंगको भेटघाट तथा छलफलका क्रममा उहाँले नेपाली काँग्रेसले चुनाव जितेको खण्डमा बुटवल–पाल्पा सडकलाई फोर लेनको रुपमा बिकास गर्ने र सिद्धबाबा क्षेत्रको सडकको दुरावस्था अन्त्यगर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
नेता नेपालले पाल्पामा प्राविधिक विश्वविद्यालय स्थापना गर्ने, पाल्पालाई पर्यटकीय हवको रुपमा बिकास गर्ने तथा कृषि बिकासकालागि सिचाईको प्रवन्ध गरि व्यबसायिक कृषिलाई प्रवद्धन गर्ने र बाँकी अधुरा कामहरु पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । निवर्तमान सांसद समेत रहनु भएका नेता नेपालको पहलमा पाल्पामा एयरपोर्टको विस्तृत सर्भेको काम भईरहेको छ । त्यस्तै सुगुरेडाडाँ, जुठापौवा, साझझण्डी सडक, बतासे, फेक, झिगामारा सडक तथा पहाडी जिल्लाकै सबैभन्दा ठूलो १४ करोडको कचल फाँट सिचाई योजना, तानसेन खानेपानी सञ्चालनमा रहेकाले यी सहित साना ठूला बिकासे आयोजनाहरु अंगाडी बढाउने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाली काँग्रेस पाल्पाका सचिव अजयमान कर्माचार्यले जारी संविधानको कार्यान्वयन गर्दै लोकतान्त्रिक व्यबस्थालाई मजबुद बनाउने र पाल्पालाई कृषि र पर्यटनका माध्यमबाट बिकासको उचाईमा पु¥याउने नेपाली काँग्रेसको लक्ष्य रहेको बताउनु भयो । त्यस्तै प्रदेश सभा क्षेत्र नं. २(२) पाल्पाका उम्मेदवार रामबहादुर कार्कीले पाल्पा कृषि व्यबसाय र प्रर्यटनको राम्रो सम्भावना बोकेको क्षेत्र भएकाले कृषि र पर्यटन बिकासकालागि आफूले काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
नेपाली काँग्रेस पाल्पा क्षेत्र नं. २ का क्षेत्रीय सभापति रामबहादुर कार्कीको सभापतित्वमा भएको कार्यक्रममा बुद्धिजिबी तिलकराम पौडेल, निर्वाचन प्रचारप्रसार समितिका संयोजक नलबहादुर राना, नेपाली काँग्रेसका बुटवल नगर सभापति खेलराज पाण्डे, पाल्पा जिल्ला सदस्य सचिन बिष्ट, धनु रायमाझी, प्रकाश नेपाल, क्षेत्रीय सदस्य शंकर रायमाझी लगायतले २०३६ सालमा भएको बहुदल र निर्दलको निर्वाचनमा राजासंग मिलेर निर्दल रोज्ने नेपालका कम्युनिष्ट पार्टीहरु लोकतान्त्रिक हुनै नसक्ने बताउँदै लोकतन्त्रकालागि नेपाली काँग्रेसको अर्को विकल्प नभएको बताएका थिए ।