बुटवल, ४ मंसिर । रुपन्देही क्षेत्र नं. २ बाट प्रतिनीधि सभामा नेपाली काँग्रेसका उम्मेदवार युवराज गिरीले सबै पेशा–व्यबसायमा अधिकार सुनिश्चित गराउने बताउनु भएको छ ।
नागरिकको पेशा, व्यबसायको सुरक्षा र सुनिश्चितताकालागि नेपाली काँग्रेस स्वयम आफू पनि प्रतिवद्ध रहेको उहाँले बताउनु भयो ।
ई–रिक्सा चालक संघ जिल्ला तथा बुटवल नगर समितिले आयोजना गरेको भेलामा बोल्दै उहाँले बुटवलमा ई–रिक्साको आगमनले नगरका भित्रि भित्रि भागमा आवतजावतमा सहजता भएको र यसलाई व्यबस्थित गर्नकालागि आफूले जितेको खण्डमा सबै जिम्मेवारी लिएर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
सो अवसरमा नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीका अध्यक्ष तथा प्रदेश सभा २(१) का उम्मेदवार काजिमान श्रेष्ठले आफू ट्रेड युनियन कर्मी पनि भएकाले मजदुरको पक्षमा सधै वकालत गर्दै आएको र आगामी दिनमा पनि मजदुरकै साथमा रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
सो कार्यक्रममा ई–रिक्सा चालकहरुले ट्राफिकले अनावश्यक दुःख दिने काम गरेको तथा पेसा व्यबसाय संकटमा रहेकाले उचित व्यबस्था मिलाईदिन माग गरेका थिए ।
कार्यक्रममा नेपाली काँग्रेस बुटवल नगर समितिका सभापति खेलराज पाण्डेले ई–रिक्सा व्यबस्थापनको जिम्मेवारी स्थानीय तहको भएपनि स्थानीय तहको उदासिनताले ई–रिक्सा व्यबसायलाई व्यबस्थित गराउन नसकिको बताउनु भयो । बुटवलमा ई–रिक्सा आवश्यक भएको र त्यसको उचित व्यबस्थापनकालागि पहल गरेपनि काम हुन नसकेकाले काम हुनकालागि नेपाली काँग्रेसको जित आवश्यक रहेको बताउनु भयो ।
चालक संघ बुटवल नगर उपाध्यक्ष आनन्दप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा रेक्सा व्यबसायी संघका सचिव गोपाल रिजाल, यातायात मजदुर संघ पश्चिमाञ्चल क्षेत्रीय अध्यक्ष कृष्णप्रसाद वेलबासे, ईरिक्सा चालक महासंघका केन्द्रीय उपाध्यक्ष गणेशराज कार्की, नेपाल ई–रिक्सा चालक संघ रुपन्देहीका सचिव लालमणी भण्डारी लगायतले रिक्सा चालकका समस्या राख्दै समाधानकालागि पहलकदमी उठाईदिन आग्रह गरेका थिए ।