रुपन्देहीका ७५ मतदान केन्द्र अतिसंवेशनशिल

1.3K

रुपन्देहीका ७५ मतदान केन्द्र अतिसंवेशनशिल

बुटवल, १३ मंसिर । जिल्ला सुरक्षा समितिले रुपन्देहीका ७५ मतदान केन्द्रलाई अति संवेदनशिल सुचिमा राखेको छ । जिल्लाका २०८ मतदान केन्द्र मध्ये जिल्ला सुरक्षा समितिले विगतमा भएको निर्वाचनको अनुभव, भएगरेका घटनाक्रम र सम्भावित जोखिमहरुलाई अध्ययन गरेर ७५ वटा मतदान केन्द्र अति संवेदनशिल, ४२ वटा संवेदनशिल र बाँकी ९१ वटा मतदान केन्द्रलाई सामान्यको सूचमा राखिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरिक्षक डिल्लानारायण पाण्डेले जानकारी दिनुभयो ।

एक उपमहानगरपालिका, ५ नगरपालिका र १० गाउँपालिका रहेको रुपन्देही जिल्लामा ५ निर्वाचन क्षेत्र छ । जसमा २०८ मतदान केन्द्र रहेका छन् । निर्वाचनका कार्यक्रमहरु सुरु भए लगत्तै प्रहरीले सुरक्षा रणनीति बनाएर काम गरिरहेको पनि उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले चुनाव प्रचार प्रसारको क्रममा प्रहरीले उम्मेदवारको सुरक्षालाई विशेष ध्यान दिएको छ । त्यस्तै प्रहरीले मोवाई गस्ती, पैदल गस्ती तथा बिशेष चेकिङ् गरेर सुरक्षा व्यबस्थालाई चुस्त बनाएको उहाँले बताउनु भयो । समग्रमा जिल्लाको सुरक्षा व्यबस्था चुस्त रहेको प्रहरीले दावी गरेको छ ।

रुपन्देही जिल्लामा निर्वाचनलाई लक्षित गरेर भर्ना गरिएका म्यादी प्रहरी सहित ४ हजार ४४ जनपथ प्रहरी परिचालन गरेको छ । त्यसबाहेक निर्वाचनका समयमा ससस्त्र प्रहरीले मोवाई गस्ती गर्ने छ भने नेपाल आर्मिले मतदान केन्द्रको बाहिरी घेरा भन्दा बाहिरबाट सुरक्षा प्रदान गर्ने जिल्ला सुरक्षा समितिले जनाएको छ ।

२०७२ असोज ३ गते संविधान जारी भएपछि यहि असोजको २१ गते हुनलागेको प्रतिनीधि तथा प्रदेश सभा निर्वाचनको सुरक्षालाई लक्षित गरेर जिल्ला प्रशासन कार्यालय रुपन्देहीले मंसिर १८ गते राती देखि २१ गते रातीसम्म (७२ घण्टा) नेपाल भारत सिमा शिल हुने जानकारी गराईसकेको छ । त्यस समयमा प्रशासनले भारतबाट नेपाल आउन तथा नेपालबाट भारत जानकालागि पूर्ण रुपमा प्रतिवन्ध लगाएको छ ।

त्यस्तै शान्ति सुरक्षालाई लक्षित गरि प्रशासनले मंसिर १८ देखि २२ गते सम्म मदिरा लगायतका मादक पदार्थ बिक्रि वितरणमा समेत प्रतिवन्ध लगाएको छ । प्रशासनले व्यबसायिक संघसंस्थाहरुलाई पत्राचार गरि कडाईका साथ पालना गर्न र गराउन आग्रह गर्दै उल्लंघन भएमा प्रचलित अनुन अनुसार कारवाही हुने उल्लेख गरेको छ । त्यस्तै निर्वाचनको दिन मंसिर २१ गते अनुमति प्राप्त बाहेकका सवारी साधन नचलाउन समेत जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।