
बुटवल, १५ मंसिर । रुपन्देही क्षेत्र नं. १(२) बाट प्रदेश सभाका स्वतन्त्र उम्मेदवार कृष्णप्रसाद पौडेलले आफूले चुनाव जिते सुनौलीदेखि चरङ्गे जोड्ने बाईपास सडक निर्माणलाई पहिलो प्राथमिकता राखेको बताउनु भएको छ । उहाँले आफू चुनाव लड्दै गरेको क्षेत्र अविकसित रहेकाले बिकासका धेरै काम गर्न बाँकी रहेको बताउँदै जनताको आर्थिक उन्नतीकालागि पनि त्यो सडक महत्वपूर्ण हुने बताउनु भयो ।
उहाँले उक्त क्षेत्र कृषिको उर्वर भूमि भएपनि सिचाई लगायतका समस्याका कारण प्रयाप्त उत्पादन लिन नसकिएको बताउँदै कृषि उत्पादन बढाउनकै लागि प्रयाप्त कृषि सिचाई योजना ल्याउने, उत्तर र दक्षिणलाई लक्षित गरेर दुई वटा प्राबिधिक क्याम्पस सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । रिपोटर्स क्लव नेपालले शुक्रबार तिलोत्तमा नगरपालिका वडा नं. १० स्थित उहाँकै निवासमा गरेको साक्षात्कार कार्यक्रममा नेता पौडेलले त्यसमध्ये एउटा कृषि अनुसन्धान गर्ने गरी कृषि बिज्ञान क्याम्पस सञ्चालन गर्ने जानकारी गराउनु भयो ।
त्यस्तै क्षेत्रभरी रहेका सडकलाई बिस्तार गरि स्तरीय बनाउने, प्रत्येक वडामा शुद्ध खानेपानी पु¥याउने, किसानलाई सर्वसुलभ रुपमा बिउ तथा मलखादको व्यबस्था मिलाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । उम्मेदवार पौडेलले चुनाव जिते जनतालाई मालिक बनाएर आफू सेवक बन्ने बताउँदै सेवा गर्ने अवसर प्रदान गर्न मतदातालाई आग्रह गर्नुभयो ।
नेपाली काँग्रेसका पुराना नेता पौडेलले आफूलाई पार्टीले कहिल्यै पनि अवसर नदिएको भन्दै पार्टी परित्याग गरि स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो । उम्मेदवारी दिएलगत्तै चुनावी प्रचार प्रसारका कार्यक्रमहरु घरदैलो तथा मतदाता भेटघाट, कोण सभा लगायतका कार्यक्रम सञ्चालन गरिरहनु भएको छ ।
मतदाता भेटघाटका क्रममा सकारात्मक प्रतिक्रिया पाएको बताउँदै जित सुनिश्चित भएको प्रतिक्रिया दिनुभयो । ‘मतदाताको घरघरमा मत माग्न हिँडेको छु ।’ उहाँले भन्नुभयो–‘संविधान कार्यान्वयन गर्दै समुन्नत, समृद्ध, सम्पन्न र सभ्य मुलुक बनोस भन्ने आम नागरिकको चाहना छ ।’
आफू १८ वर्षको उमेरदेखि राजनीतिक परिवर्तनको आन्दोलनमा होमिएको बताउँदै उहाँले मुलुकमा राजनीतिक परिवर्तन भएर लोकतन्त्र आएपनि नेपाली काँग्रेसमा राणा शासन कायमै रहेको आरोप लगाउनु भयो । उहाँले हिजो लोकतन्त्र सिध्याउने अभियानमा हिंडेकालाई टिकट बिक्रि गरेको आरोप लगाउँदै लोकतन्त्र रक्षाकालागि आफ्नो उम्मेदवारी भएको प्रष्ट पार्नुभयो ।
आफू २०४८ सालमा नेपाली काँग्रेसको जिल्ला सचिव भएको र पार्टी विभाजन पछि पनि सचिव नै भएर काम गरेकाले जिल्लाको कुनाकाप्चा, नेता कार्यकर्ता सबैसंग राम्रो परिचित भएकाले आफूलाई नेपाली काँग्रेसका पूराना तथा इमान्दार नेताहरुबाट सद्भाव प्राप्त भएको बताउनु भयो । उहाँले केही पत्रबारबाट कुनै उम्मेदवारका पक्ष बिपक्षमा जनमत बनाउने गरी आफूलाई प्रयोग गर्न खोजिएको बताउँदै त्यस्तो पित पत्रकारिता नगर्न समेत सुझाव दिनुभयो ।