
बुटवल, २८ मंसिर । प्रतिनीधि सभामा पाँच नम्बर प्रदेशबाट दुई जना महिला उम्मेदार निर्वाचित भएका छन् । त्यस्तै पाँच नम्बर प्रदेश सभामा पनि दुई महिला निर्वाचित भएका छन् । सम्पन्न प्रतिनीधि तथा प्रदेश सभा निर्वाचनमा जिल्लामा एउटा, एउटा मात्रै क्षेत्र रहेको रुकुम र प्युठानबाट महिला उम्मेदवार निर्वाचित भएका हुन् ।
पाँच नम्बर प्रदेशमा पश्चिम नवलपरासी, रुपन्देही, पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलबस्तु, दाङ्, प्युठान, पुर्वी रुकुम, बाँके र बर्दिया जिल्ला पर्दछन् । पाँच नम्बर प्रदेशबाट प्रतिनीधि सभामा रुकुमबाट माओवादी केन्द्रकी उम्मेदवार कमला रोका र प्युठानबाट राष्ट्रिय जनमोर्चाकी उम्मेदवार दुर्गा पौडेल प्रतिनीधि सभामा निर्वाचित हुनु भएको हो । बाँकी सबै जिल्लाबाट पुरुष उम्मेदवार निर्वाचित भएका छन् । पाँच नम्बर प्रदेशबाट प्रतिनीधि सभामा विभिन्न पार्टीबाट १५ जनाले प्रतिस्पर्धा गरेका थिए ।
रुकुममा माओवादी केन्द्रकी उम्मेदवार रोकाले नेपाली काँग्रेसका उम्मेदवार हरिशंकर घर्ती मगरलाई पराजित गरि प्रतिनीधि सभामा निर्वाचित हुनु भएको हो । रोकाले १० हजार ४३४ मत प्राप्त गर्दा काँग्रेस उम्मेदवार घर्तीले ४ हजार ४०६ मत प्राप्त गर्नुभएको थियो ।
त्यस्तै प्युठानमा एमाले र माओवादी केन्द्रको सहयोगमा राष्ट्रिय जनमोर्चाकी उम्मेदवार पौडेल निर्वाचित हुनु भएको हो । उहाँले ४७ हजार ५१४ मत प्राप्त गर्नुभएको थियो भने निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका उम्मेदवार डा. गोविन्दराज पोखरेलले ३१ हजार २८६ मत प्राप्त गर्नुभएको थियो ।
पाँच नम्बर प्रदेशको १२ जिल्लाका ५२ निर्वाचन क्षेत्र रहेको प्रदेश सभामा पनि दुई महिला निर्वाचित भएका छन् । प्रदश सभामा बाँकेबाट दुई महिला निर्वाचित भएका हुन । प्रतिनीधि सभामा तीन र प्रदेश सभामा ६ निर्वाचन क्षेत्र रहेको बाँकेको १(१) बाट माओवादी केन्द्रकी कृष्णा केसी र १(२) बाट एमालेकी आरती पौडेल निर्वाचित हुनु भएको हो । प्रदेश सभाका बाँकी ५० निर्वाचन क्षेत्रबाट पुरुष उम्मेदवार निर्वाचित भएका छन् ।