समानुपातिक तर्फ रुपन्देहीमा काँग्रेस पहिलो

1.3K

समानुपातिक तर्फ रुपन्देहीमा काँग्रेस पहिलो

बुटवल, २८ मंसिर । सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा समानुपातिक तर्फ रुपन्देही जिल्लामा नेपाली काँग्रेस पहिलो पार्टी भएको छ ।

प्रतिनिधि सभामा पाँच निर्वाचन क्षेत्र रहेको रुपन्देही जिल्लामा प्रत्यक्षमा दुई वटा सिट जितेको नेपाली काँग्रेस समानुपातिकमा १ हजार ७ सय ४४ मतले पहिलो बनेको हो । प्रत्यक्षमा तीन वटा क्षेत्र जितेर जिल्लामा पहिलो पार्टी भएको एमाले समानुपातिक तर्फ भने खुम्चिएको छ ।

रुपन्देही जिल्ल्लामा प्रतिनिधि सभामा नेपाली काँग्रेसले १ लाख १५ हजार ३ सय २९ मत प्राप्त गरेको छ भने नेकपा एमालेले १ लाख १३ हजार ५ सय ८५ मत प्राप्त गरेको छ । त्यस्तै नेकपा माओवादी केन्द्रले १८ हजार २ सय ९४ मत प्राप्त गरेको छ ।

प्रदेश सभामा भने नेपाली काँग्रेसले एमालेको भन्दा २ हजार ६ सय ६२ मत कम ल्याएको छ । प्रदेश सभाकालागि समानुपातिक तर्फ एमालेले १ लाख ५ हजार ७ सय ३१ मत प्राप्त गर्दा नेपाली काँग्रेसले १ लाख ३ हजार ६९ मत प्राप्त गरेको छ ।

जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले समानुपातिक तर्फको समेत मतगणना सकिएको जनाएको छ । जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्याप्रसाद भण्डारीले मतगणना सकिएपनि धेरै दल भएकाले सबै दलको लेखा जोखा गर्ने काम नसकिएको बताउनु भयो ।

प्रतिनिधि सभामा प्रत्यक्ष तर्फ एमालेले क्षेत्र नं. १, २ र ३ जितेको छ भने नेपाली काँग्रेसले क्षेत्र नं. ४ र ५ मा जित हात पारेको छ । त्यस्तै १० क्षेत्र रहेको प्रदेश सभा तर्फ एमालेले ५, नेपाली काँग्रेसले ३ तथा नेकपा माओवादी केन्द्र र संघीय समाजवादी फोरमले एक एक क्षेत्रमा जित हात पारेका छन् ।