
बुटवल, ५ पुस। आन्तरिक र बाह्य पर्यटकलाई विभिन्न २७ देशका खानाका परिकारहरु खुवाउन सफल पोखराका पर्यटन व्यवसायीले सडक महोत्सवको आयोजना गर्ने भएका छन् । सडक महोत्सव सञ्चालन गर्दै आएका पोखराका पर्यटन व्यवसायीले यस वर्षपनि सडक महोत्सवको तयारी गरेका छन् । उनीहरुले यही पुस १३ गतेदेखि १७ गतेसम्म १९ औं सडक महोत्सव गर्ने अन्तिम तयारी गरेका छन् ।
रेष्टुरेण्ट एण्ड बार एशोसिएयसन नेपाल (रेवान) पोखराले बुधबार रुपन्देहीको मणिग्राममा पत्रकार भेटघाट तथा अन्तर सम्बाद कार्यक्रम गरी सडक महोत्सवबारे जानकारी गराईएको हो । पर्यटन क्षेत्रको विकासले देशको आर्थिक सम्वृद्वि छिटो हुन सक्ने भएकाले पर्यटन क्षेत्रको विकासमा सरकार गम्भीर हुन उनीहरुले सरकारलाई आग्रह गरे ।
सरकारले पूर्वाधारको विकास गर्न नसकेकाले सोंचे जस्तो पर्यटन क्षेत्रको विकास हुन नसकेको उनीहरुको भनाई छ । उनीहरुले पोखरा र लुम्बिनीलाई जोडेर बुटवल– भैरहवालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने औंल्याएका छन् । आपसी तथा आन्तरिक सहमति गरेर पोखरा, लुम्बिनी, भैरहवा, बुटवल र चितवनलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरेर विदेशी पर्यटकलाई भित्राएर आर्थिक आर्जन गर्न सकिने बताएका थिए ।
कार्यक्रममा बोल्दै सिद्वार्थ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार शर्माले पर्यटन र जल विद्युतकोे विकास गर्न सकेमा देशको आर्थिक सम्वृद्वि हुने बताउनु भयो । उहाँले पोखरा र लुम्बिनीलाई जोड्ने गरी फास्टट्याक बनाउन सके पर्यटन बिकासमा टेवा पुग्ने बताउनु भयो ।
उद्योग वाणिज्य संघ प्रदेश नम्बर ४ का अध्यक्ष सन्जीव कोईरालाले यस क्षेत्रको पर्यटनको विकासमा मिडियाको भूमिका प्रमुख रहेको बताउंदै पोखरामा हुंदै आएको सडक महोत्सवले समग्र देशलाई प्रभाव पारेको बताउनु भयो ।
रेष्टुरेण्ट एण्ड बार एशोसिएयसन नेपाल (रेवान) पोखराका अध्यक्ष चौबहादुर गुरुङले विदेशी नागरिकलाई आर्कषित गर्नेगरी सडक महोत्सवको आयोजना गरिएको बताउनु भयो । उहाँले प्रकृति, संस्कृति र संगितले रंगिएको पोखराको सडक महोत्सवमा भारत, जापन, कोरिया, चाईना लगायतका अन्य थुुप्रै मुलुकको संस्कार तथा संस्कृतिलाई देखाउने बताउनु भयो ।
नेपाल बाहेक विदेशी २७ देशका विभिन्न खानाका परिकारहरु पोखरामा खुवाउन सकिने बताउंदै दैनिक ३, ४ लाख पर्यटकलाई खाना बस्नको व्यवस्था गर्न सक्नेगरी पर्यटन व्यवसायलाई व्यवस्थित गरिएको उहाँले जानकारी गराउनु भयो ।
रेवान पोखराका पूर्व अध्यक्ष शूर्य भुजेलले पांच दिनसम्म सडक जाम गरेर गरिने महोत्सव अबधिभर पोखराका पर्यटन व्यवसायीले सडकमै खानाका परिकारहरु पस्कने बताउनु भयो ।