धौलागिरीले उत्पादनशिल क्षेत्रमा लगानी गर्ने

1.3K

धौलागिरीले उत्पादनशिल क्षेत्रमा लगानी गर्ने

बुटवल, १४ पुस । बुटवलमा सञ्चालित धौगागिरी बहुउद्देश्यीय सहकारी संस्थाले उत्पादनशिल तथा आयमुलक क्षेत्रमा लगानी बढाउने प्रस्ताव पारित गरेको छ । सहकारीको शुक्रबार बुटवलमा सम्पन्न १८ औं साधारण सभाले सदस्यहरुको प्राथमिक आवश्यकता र आयआर्जन क्षमताको पहिचान गरि उत्पादनशिल तथा आयमुलक क्षेत्रमा लगानी बढाउन कार्यसमितिलाई अख्तियारी प्रदान गरेको हो ।

साधारण सभाले कृषि पेशामा आवद्ध सदस्यहरुलाई समयानुकुल उन्नत जातका बिउविजन तथा मलखाद उपलब्ध गराउने, व्यबसायिक खेती प्रणाली र सिंचाई सम्बन्धि तालिम प्रदान गर्ने नीति अंगाडी सारेको हो । यस अंगाडी १७ औं साधारण सभामा पारित भएका सबै निर्णयलाई निरन्तरता दिईने अध्यक्ष हरिप्रसाद पन्तले जानकारी दिनुभयो ।

साधारण सभाले संस्थाको लगानी र निक्षेपको अवस्था हेरी समयसापेक्ष रुपमा व्याजदर पुनरावलोकन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ । चालु आर्थिक वर्षमा सदस्य संख्या थप गरि १ हजार ५ सय पु¥याउने लक्ष्य लिईएको छ । हाल उक्त सहकारीमा ८४५ जना शेयर सदस्य छन् । त्यस्तैगरी बुटवल उपमहानगरपालिका र सैनामैना कार्यक्षेत्र रहेको सहकारीको जिल्लाभर कार्यक्षेत्र बिस्तार गर्ने, समुह ग र घ लाई एउटै समुह बनाउने तथा शेयर पुँजी बृद्धि गर्ने प्रस्ताव पारित भएको छ ।

साधारण सभामा बोल्दै जिल्ला बिकास समिति रुपन्देहीका पूर्व उपसभापति तथा नेपाली काँग्रेस रुपन्देहीका पूर्व सभापति रामचन्द्र ढकालले सहकारीका माध्यमबाट पुँजी एकिकृत भएपनि उत्पादनशिल क्षेत्रमा प्रयाप्त लगानी हुन नसक्दा अपेक्षाकृत रुपमा मुलुकको अर्थतन्त्रमा प्रभाव पार्न नसकेको बताउनुभयो । उहाँले सहकारीका माध्यमबाट आर्थिक सवलीकरणसंगै महिला ससक्तिकरण प्रभावकारी हुने बताउनु भयो ।

सहकारीका संस्थापक अध्यक्ष तथा नेशनल कोअपरेटिभ एलाईन्सका रुपन्देही अध्यक्ष रामकृष्ण खाँणले सहकारीले बचत र ऋण लगानी मात्रै गर्ने भन्दा पनि आर्थिक सुधारकालागि उत्पादनशिल क्षेत्रमा लगानी गर्नुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा सल्लाहकारहरु युवराज गिरी, फणेन्द्र शर्मा, सल्लाहकार तथा बुटवल ४ का वडा अध्यक्ष टंकप्रसाद पराजुली, जिल्ला सहकारी संघ रुपन्देहीका सदस्य दामोदर पंगेनी, ससक्त वचत तथा ऋण सहकारीका अध्यक्ष कृष्ण चौहान, पत्रकार बिक्रम खड्का, शेयर सदस्य खिमप्रसाद खनाल, मीना घिमिरे लगायतले सहकारीमा एकिकृत भएको पुँजीलाई उत्पादनशिल क्षेत्रमा लगानी गर्न सुझाव दिएका थिए । सचिव गोबिन्द खनालको सञ्चालनमा भएको कार्यक्रममा सदस्य गंगा पन्थीले स्वागत गर्नुभएको थियो ।