
बुटवल, १९ पुस । छड तथा सिमेन्ट उद्योगहरुले विनाकारण मुल्य बृद्धि गरेको भन्दै रुपन्देहीका हार्डवेयर व्यबसायीहरुले मुल्यबृद्धि नियन्त्रणको माग गरि जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् ।
छड तथा सिमेण्ट उद्योगहरुले विनाकारण मूल्य बृद्धि गरेको भन्दै जिल्लाका हार्डवेयर व्यबसायीहरुको संस्था रुपन्देही सिद्धार्थ निर्माण सामाग्री व्यबसायी संघको टोलीले बुधबार जिल्ला प्रशासन कार्यालयलाई ज्ञापन पत्र बुझाएको हो ।
उद्योगीहरुले विना कारण मूल्य वृद्धि गरेपछि यसको प्रत्यक्ष असर उपभोक्ता र हार्डवेयर ब्यवसायीमा परेको बताउँदै मूल्यबृद्धिको चौतर्फी विरोध भईरहँदा समेत सरोकारवाला निकायवाट अनुगमन, छानविन तथा मूल्य नियन्त्रण गर्नेतर्फ कुनै कदम नचालिनु अर्को आश्चर्यको विषय वनेको संघका अध्यक्ष सुनिल मरासिनीले बताउनु भयो ।
‘वर्तमान अवस्थामा नेपालमा लोडसेडिङ् भैरहेको छैन, डलरको भाउ समेत बढेको छैन, बिरगंञ्ज बाहेक अन्य नाकाबाट सहज रुपमा क्लिङ्कर आयात भईरहेको छ भने भारतमा समेत क्लिङ्करको भाउ बढेको छैन र अहिले स्वदेशमै प्रसस्त मात्रामा क्लिङ्कर मौज्दात रहेको अवस्था छ ।’ ज्ञापन पत्रमा भनिएको छ–‘यस्तो अवस्थामा समेत उद्योगीहरुले एकाएक मूल्यबृद्धि गर्नु आम उपभोक्तामाथि शोषण र अन्याय गर्नु हो भन्ने हाम्रो ठहर छ ।’

एकातर्फ उद्योगीहरुले सिमेण्ट र छडमा मूल्यबृद्धि गरेर आम उपभोक्तामाथि भार थोपर्ने काम गरेका छन भने अर्कोतर्फ ट्रक व्यवसायीहरुले समेत ढुवानी भाडा बढाएर आम उपभोक्तालाई दोहोरो मारमा पारेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
उद्योगहरुले मूल्यबृद्धि गर्नुको कारण र औचित्य पुष्टी हुने गरी सम्वन्धित उद्योगहरुको अनुगमन गरि आम व्यवसायी र उपभोक्ताहरुलाई चित्तबुझ्दो जवाफ दिन ज्ञापन पत्र मार्फत प्रशासनको ध्यानाकर्षण गराईएको छ । छाानवीनका क्रममा उद्योगीले मूल्यबृद्धि गर्नुपर्नाको औचित्य पुष्टी गर्न नसके त्यस्ता उद्योगीलाई कारवाहीको दायरामा ल्याउन र बृद्धि गरिएको मूल्य क्षतिपूर्तिसहित फिर्ता गराउनेतर्फ कदम चाल्न समेत प्रशासनलाई आग्रह गरिएको छ ।
उद्योगीले बृद्धि गरेको मूल्यमा व्यवसायीहरुले माल उठाउन नसक्ने र उपभोक्ताहरुले समेत चर्को मूल्य तिरेर सामान खरिद गर्न नसक्ने बताउँदै अध्यक्ष मरासिनीले यही अवस्था कायम रहीरहे व्यवसाय नै वन्द गरेर आन्दोलनमा उत्रिनु बाहेकको विकल्प नरहेको बताउनु भयो ।
व्यवसायी व्यवसाय वन्द गरेर आन्दोलनमा उत्रिदा सरकारी, नीजि लगायतका निर्माण आयोजनामा पर्न जाने प्रत्यक्ष असरप्रति सम्वन्धित पक्ष स्वयं जवाफदेही हुनुपर्ने पनि ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
ज्ञापन पत्र बुझ्दै रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले व्यबसायीले उठान गरेको कुरा सान्दर्भिक भएको बताउनु भयो । उहाँले उद्योगहरुले बिना कारण मुल्यबृद्धि गर्न नपाउने बताउँदै त्यसतर्फ प्रशासन चनाखो हुने प्रतिवद्धता व्यक्त गर्नुभयो । छड सिमेन्टमा मुल्य बृद्धिभएको समाचार आएपछि प्रशासनले गरेको अनुगमनबाट पनि मुल्य बृद्धि भएको पुष्टि गरेको बताउँदै प्रशासनले कदम चाल्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
रुपन्देही सिद्धार्थ निर्माण सामाग्री व्यबसायी संघले आन्दोलनको रणनीति बनाउनकालागि आज बिहिबार मणिग्राममा व्यबसायी भेलाको आयोजना गरेको छ । उक्त भेलामा आम व्यबसायीलाई सहभागि हुनकालागि अध्यक्ष मरासिनीले आह्वान गर्नुभएको छ ।