राजधानी अन्यथा भए काँग्रेसले कडा आन्दोलन गर्ने

1.3K

राजधानी अन्यथा भए काँग्रेसले कडा आन्दोलन गर्ने

बुटवल, १९ पुस । पाँच नम्बर प्रदेशको राजधानी दाङ् बनाउन शहरी बिकास मन्त्रालयले गरेको सिफारिसको नेपाली काँग्रेसले विरोध गरेको छ । नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं. २ ले बुधबार बुटवलमा पत्रकार सम्मेलन गरि पाँच नम्बरको प्रादेशिक राजधानी रुपन्देही बाहेक अन्यथा भए कडा आन्दोलनको समेत चेतावनी दिएको छ ।

नेपालकै मध्येभागमा पर्ने र जनघनत्वका हिसावले पनि रुपन्देही नै उपर्युक्त भएकाले प्रादेशिक राजधानी रुपन्देही मै हुनुपर्छ भन्ने माग भईरहेका बेला अन्यत्र बनाउन सिफारिस गरिनु आपत्तिजनक भएको बताउँदै रुपन्देही क्षेत्र नं. २ का काँग्रेस सभापति हरि लम्सालले रुपन्देही बाहेक अन्यथा भए कडा भन्दा कडा आन्दोलन चर्काउने चेतावनी दिनुभयो ।

रुपन्देही नेपालकै मध्येभागमा पर्ने र ६० प्रतिशत जनघनत्व भएको ठाउँलाई राजधानी नबनाए जनमतकै अपमान हुने बताउँदै नेपाली काँग्रेसका तर्फबाट प्रतिनीधि सभाका उम्मेदवार तथा महाधिवेशन प्रतिनीधि युवराज गिरीले अन्यथा भए यहाँका जनताको जनविद्रोह थग्न सरकारलाई कठिन हुने चेतावनी दिनुभयो ।

गत स्थानीय तहको निर्वाचन तथा प्रतिनीधि र प्रदेश सभा निर्वाचनमा यहाँका ठूला राजनीतिक दलले बुटवललाई प्रादेशिक राजधानी बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए । ‘यो सबैको साझा माग हो, नेतृत्व मात्रै नेपाली काँग्रेसले गरेको हो ।’ नेता गिरीले भन्नुभयो । प्रादेशिक राजधानी बुटवल या आसपासमा बन्न नसके अन्ततःसम्म आन्दोलन हुने नेपाली काँग्रेस बुटवल नगर समितिका सभापति खेलराज पाण्डेले बताउनु भयो ।

सरकारलाई गरिएको सिफारिसको सांकेतिक रुपमा बिरोध स्वरुप नेपाली काँग्रेसले आज बिहिबार रुपन्देहीमा एक घण्टा चक्का जाम गर्ने भएको छ । नेपाली काँग्रेसले बुटवल, सैनामैना र तिलोत्तमाको मणिग्राममा बिहान ९ देखि १० बजेसम्म प्रदर्शन सहित चक्काजामको तयारी गरेको हो । सोही सिफारिसका आधारमा आज बस्ने मन्त्रीपरिषदको बैठकले प्रदेशको राजधानी तोक्ने सम्भावना छ ।